काठमाडौं- एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप २०२२ छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने भएको छ।
मलेसियाको क्वालालम्पुरमा बिहीबार भएकाे भर्चुल ड्र अनुसार नेपाल हङकङ र फिलिपिन्ससँगै समूह एफमा परेकाे हाे।
यस समूहको आयोजकको रुपमा नेपाल रहनेछ र नेपालले घरेलु मैदानमै खेल्ने अवसर पाउनेछ। छनोट अन्तर्गत समूह चरणका खेलहरु सेप्टेम्बर दोस्रो साता सुरु हुनेछ।
एन्फाले दशरथ रंगशालामा नै प्रतियोगिता गराउने प्रबल सम्भावना छ।
एएफसीले हाललाई छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भाद्रदेखि ९ असोज) तोकेको छ। छनोटमा सहभागी हुने टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।
चार समूहमा ४-४ टिम छन् भने अर्को चार समूहमा ३-३ टिम छन्। ८ वटै समूहको विजेता टोली भारतमा हुने एसिया कपमा छनोट हुनेछ। महिला एसिया कप आगामी वर्षको जनवरी २० देखि फेब्रुअरी ६ तारिखसम्म आयोजना हुँदै छ।
२०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतको तीन शहरमा हुने प्रतियोगितामा कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै पछिल्लो संस्करणको शीर्ष तीन टिम जापान अष्ट्रेलिया र चीनसहित आयोजक भारत सिधै छनोट भइसकेका छन्।
नेपालले यसअघि तीन पटक एसि कप खेलेको थियो। सन् १९८६ मा पहिलो पटक सहभागिता जनाएको नेपालले १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो र तर एक खेल पनि जित्न सकेको थिएन।
नेपालको समूहमा रहेको फिलिपिन्स विश्व वरीयतामा ६८औं स्थानमा छ। नेपाल १ सय १औं स्थानमा रहँदा हङकङ ७६औं स्थानमा छ। नेपालले यसअघि १९८६ र १९८९ मा हङकङसँग खेलेको थियो भने १९९९ मा फिलिपिन्ससँग खेलेको थियो।
उक्त खेलमा नेपालले फिलिपिन्ससँग ५-० को हारेको थियो। यस्तै, हङकङसँग ३-० को हार बेहोरेको थियो। नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३-१ ले पराजित गरेको थियो।
समूह विभाजन :
समूह ए : चाइनिज ताइपेइ (आयोजक), बहराइन, तुर्कमेनिस्तान, लाओस
समूह बी : भियतनाम, ताजिकिस्तान (आयोजक), माल्दिभ्स, अफगानिस्तान
समूह सी : उत्तर कोरिया, सिंगापुर, इराक, इन्डोनेसिया (आयोजक)
समूह डी : म्यानमार (आयोजक), यूएई, गुआम, लेबानान
समूह ई : दक्षिण कोरिया, उज्बेकिस्तान (आयोजक), मंगोलिया
समुह एफ : फिलिपिन्स, हङकङ, नेपाल (आयोजक)
समूह जी : जोर्डन, इरान, बंगलादेश (आयोजक)
समूह एच : थाईल्यान्ड, प्यालेस्टाइन, मलेसिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।