काठमाडाैं- १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा साविक विजेता पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोकेको छ।
बुधबार राति बुडापेस्टमा भएकाे खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल पेनाल्टीमार्फत् गर्दै पोर्चुगललाई २-२ को बराबरीमा राेकेका हुन्। यता, फ्रान्सका करिम बेन्जेमाले एक पेनाल्टीसहित दुई गाेल गरे। याेसँगै पोर्चुगल उत्कृष्ट ४ काे तेस्रो स्थानको टोली बन्दै अन्तिम १६ मा पुगेकाे छ।
खेलको ३१औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बललाई पन्च गर्ने क्रममा ड्यानिलो परेराको टाउकोमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा रेफ्रीले फ्रान्सलाई पेनाल्टी प्रदान गरेका थिए। पोर्चुगलका डिफेन्डर नेल्सन समेडोले किलीयन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीमा बेन्जेमाले सहजै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
दोस्रो हाफको सुरुवातमै बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे। पल पोग्बाको थ्रु पासमा बेन्जेमाले गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे। तर, असिस्टेन्ट रेफ्रीले सुरुमा अफसाइडको संकेत दिएपनि भीएआरले गोललाई मान्यता दिएको थियो।
५८औं मिनेटमा पोर्चुगलले खेल बराबरी ल्यायाे। पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि राेनाल्डाेले पेनाल्टी हान्ने अवसर पाएका थिए। रोनाल्डोले गरेकाे प्रहार गोलरक्षक लोरिसले ठम्याउन नसक्दा खेल २-२ को बराबरीमा पुगेकाे थियाे। त्यसपछि दुवै टाेलिबाट थप गाेल हुन सकेन।
यस बराबरीसँगै अपराजित फ्रान्स ३ खेलमा ५ अंक जाेड्दै समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ।
पोर्चुगल भने ३ खेलमा ४ अंकसाथ तेस्रो स्थानमा रहयो। जर्मनीले आफ्नो खेलमा हंगेरीसँग २-२ को बराबरी खेलेपछि ४ अंक जोड्दै दोस्रो भयो। समान अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो भएको हो। पोर्चुगल उत्कृष्ट ४ काे तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेकाे हाे। ३ खेलमा २ अंक जोडेको हंगेरी भने समूह चरणबाट नै बाहिरिएकाे छ।
अब फ्रान्सले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।