काठमाडाैं- स्पेन १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह ई को अन्तिम खेलमा फराकिलो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ।
बुधबार राति भएकाे खेलमा घरेलु टाेली स्लोभाकियामाथि ५-० ले जित हात पारेकाे स्पेन समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेकाे हाे।
स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक/एक गोल गरे। स्पेनले दुई गोल उपहार पाएको थियो।
खेलको १२औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न सकेनन्। मोराटाले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक डुब्राभ्काले विफल पारेका थिए। तर, ३०औं मिनेटमा स्पेनले स्लोभाकियाविरुद्ध गोलरक्षक मार्टिन डुब्राभ्काको आत्मघाती गोलमा सुरुवाती अग्रता बनायाे।
डिफेन्सले मिसपास गरेको बलमा पाब्लो सराबियाले गरेको प्रहार क्रसबारमा लागेर फर्किएकाे थियाे। उक्त रिबाउन्डलाई बाहिर पठाउने प्रयासमा डुब्राभ्काले सिधै पोस्टभित्र बल प्रहार गरेका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा स्पेनले अग्रता दोब्बर पार्यो। जेरार्ड मोरेनोले दिएको क्रसलाई डिफेन्डर एमेरिक लापोर्टले हेडरमार्फत् गोल गर्दै स्पेनलाई २-० ले अघि बढाए।
५६औं मिनेटमा स्पेनले ३-० को अग्रता बनायाे। पाब्लो सराबियाले जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसलाई फार पोस्टमा गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे।
६७औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेसले स्पेनको अग्रता फराकिलो पारे। पेड्रीको क्रसलाई ब्याकहिल फ्लिकमार्फत् गोल गरेका थिए।
७१ औं मिनेटमा जुराज कुच्काले आत्मघाती गोल गरे। पाउ टोरेसको प्रहारलाई गोलरक्षक डुब्राभ्काले बचाउने प्रयास गरेपनि त्यसपछि आएको बललाई क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेपछि स्पेन ५-० काे जित निकाल्याे।
जितसँगै स्पेनले ३ खेलमा ५ अंक जोड्दै अन्तिम १६ को यात्रा तय गरेको छ। स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।
स्वीडेन ३ खेलमा ७ अंकका साथ समूह विजेता बन्यो। यस समूहमा स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै चौथो स्थानमा छ। पोल्याण्ड भने १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।