काठमाडौं– जारीे युरोकप फुटबलमा आज (मंगलबार)समूह चरणका अन्तिम चार खेल हुँदै छन्।
आज समूह ‘ई’ र ‘एफ’ को २/२ खेलहरु हुनेछन्। आजको खेलसँगै जारी युरोकपको नकआउट चरणको समीकरण पूरा हुनेछ।
नेपाली समय अनुसार राति ९ः४५ बजे हुने समूह ‘ई’ अन्तर्गत स्पेनले स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ भने यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
सेभियामा हुने खेल स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि महत्त्वपूर्ण रहेको छ। स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ। यसअघि २ खेलबाट २ अंक जोडेको स्पेन समूहको तेस्रो स्थानमा छ।
यसअघि २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ।
दुई खेलबाट ४ अंकका जोडेको स्विडेन समूहको शीर्ष स्थानमा रहँदै यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।
पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ। पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायमै छ।
यसैगरी आजै राति १२ः४५ बजे समूह ’एफ’अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ भने जर्मनी र हंगेरी आमनेसामने हुँदै छन्।
पुस्कास स्टेडियममा हुने खेलमा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ। यसअघि २ खेलबाट ३ अंक जोडेको पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको छ।
फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ।
जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ।
हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।