काठमाडौं– जारी युरोकप फुटबलमा इंग्ल्यान्ड समूह ‘डी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको हो।
वेम्बली स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डका रहिम स्ट्रर्लिङले खेलको सुरुवातमै गरेको गोल नै निर्णायक बन्यो । स्ट्रर्लिङले खेलको १२ औं मिनेटमै ज्याक ग्रेलिसको पासमा गोल गरेका हुन्।
जितसँगै इंग्ल्यान्ड अपराजित बन्दै अन्तिम १६ मा पुग्यो। शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ। इंग्ल्यान्डविरुद्ध समुह चरणमा कुनैपनि देशले गोल गर्न सकेका छैनन्।
पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो।
यता चेक रिपब्लिकले ३ खेलबाट ४ अंक बनाउँदै समूहको तेस्रो स्थानमा रहेको छ। चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो ।
समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।