काठमाडौं- फ्रान्सेली फरवार्ड उसमान डेम्बेलेले १६औं संस्करणको युरोकप फुटबलको बाँकी खेल गुमाउने भएका छन्।
फ्रान्सेली फुटबल महासंघले सोमबार चोटका कारण डेम्बेलेले प्रतियोगिताका बाँकी खेल नखेल्ने जानकारी दिएको हो।
शनिबार समूह ‘एफ’मा अन्तर्गतको हंगेरीविरुद्धको खेलमा दोस्रो हाफमा मैदान छिरेका डेम्बेले केही बेरमै घुँडामा चोट बोक्दै बाहिरिएका थिए। उक्त खेलमा फ्रान्स १–१ को बराबरीमा रोकिएको थियो।
‘आइतबार राति डेम्बेलेको बुडापेस्टमा एक्सरे गरिएको थियो। पूरा निको हुन समय लाग्छ। उनी अब टिममा रहनेछैनन्। यसले हाम्रो उपाधि यात्रामा धक्का लागेको छ,’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ।
खेलाडी र टोलीका चिकित्सकसँगको छलफलपछि प्रशिक्षक डिडियर डेसचेम्पले डेम्बेलेलाई प्रतियोगिताबाट टाढा राख्ने निर्णय गरेको बताइन्छ।
फ्रान्स समूह चरणको अन्तिम खेलमा बुधबार पोर्चुगलसंग खेल्नेछ। फ्रान्सले प्रतियोगिताको पहिलो खेलमा जर्मनीलाई १–० ले हराएको थियो भने हंगेरीसंग गोल रहित बराबरीमा रोकिएको थियो।
४ अंकसहित फ्रान्स शीर्षस्थान छ। जर्मनी समूहको दोस्रो स्थानमा छ। पोर्चुगलसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा छ। हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।