काठमाडौं– प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ४ का हरिबहादुर चौहानले बुधबार उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिक लिएसहित ४ विकेट लिँदै सानदार प्रदर्शन गरेका हुन्।
हरिको उत्कष्ट प्रदर्शनसँगै प्रतियोगितामा समूह 'ए' बाट प्रदेश नम्बर ४ ले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ। खेलमा प्रदेश ४ ले प्रदेश १ लाई १२९ रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा एपिएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनले पराजित भएको प्रदेश ४ ले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानको शतकीय योगदानमा निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको विशाल योगफल बनाएको थियो ।
चौथो नम्बरमा ब्याटिङमा आएका चौहान ४६.४ ओभरमा प्रदेश १ का सन्दीप ढुंगानाको बलमा क्याटआउट हुनुअघि १ सय १५ बल खेलेर १०० रन बनाए। उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् । यसअघि एपिएफबिरुद्धको खेलमा पनि चौहानले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए ।
चौहानले छैटौं विकेटका लागि सुमन घिमिरेसँग मिलेर १ सय ३६ रनको शतकीय साझेदारी गरेपछि प्रदेश ४ ले विशाल योगफल बनाउन सफल भयो । घिमिरेले विष्फोटक पारी खेल्दै ५३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा ८३ रनको योगदान दिए ।
यसअघि सुरआती पाँच विकेट उसले सस्तैमा गुमाएको थियो । ओपनरहरु अनिल गुरुङ १३ र सन्तोष न्यौपाने ७ रनमा आउट हुँदा आकाश थापाले १९ तथा मञ्जिल न्यौपानेले २८ रन बनाएर आउट भएका थिए । प्रदेश ४ का लागि विपिन खत्रीले ९ बलमा २३ रन जोडे । उसले अतिरिक्त २८ रन पाएको थियो । बलिङतर्फ प्रदेश १ का पुष्प थापा र सन्दिप ढुंगानाले २–२ विकेट लिए ।
३ सय ११ रनको लक्ष्य पछ्याएको प्रदेश एक ३५ ओभरमा १८१ रनमै समेटियो। उसका लागि ओपनर सन्दीप ढुंगानाले ७१ रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन् । प्रदेश १ का लागि मिनास थापाले १९, राजन मगरले १०, फिर्दोस अन्सारीले १३ तथा श्रवण यादवले अविजित १९ रन बनाए ।
बलिङतर्फ प्रदेश ४ का हरिबहादुर चौहानले ४ तथा विपिन खत्री र राजु गुरुङले २–२ विकेट लिए। हरिले प्रदेश १ का अन्तिम तीन ब्याट्सम्यानलाई पेविलियनको बाटो देखाएका थिए । ३४.४ ओभरमा फिर्दोस अन्सारीलाई क्याचआउट गराएका उनले ३४.५ ओभरमा मनोज तामाङलाई एलबीडब्ल्यू धरापमा पारे । ओभरको अन्तिम बलमा उनले प्रदेश १ का अन्तिम ब्याट्सम्यान अभ्यास तिमल्सिनालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे। अलराउण्ड प्रदर्शन गरेका चौहान खेलको म्यान अफ द म्याच चुनिए ।

प्रदेश ५ र ७ बीचको खेल वर्षाका कारण रद्द
प्रतियोगिता अन्तर्गत बुधबार मूलपानी मैदानमा भएको प्रदेश ५ र ७ बीचको खेल भने वर्षाका कारण रद्द भएको छ ।
बुधबार बिहान परेको वर्षाका कारण खेल निर्धारित समयभन्दा करिब २ घण्टा ढिला सुरू भएको थियो । ३८ ओभरमा झारिएको खेलमा प्रदेश ७ ले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो ।
प्रदेश ७ ले ८ ओभर खेलेर २ विकेटको क्षतिमा १९ रन बनाउँदा पुनः वर्षा भएपछि खेल रोकियो । प्रदेश सातका कप्तान सुरेन्द्र चन्दा २ रनमा रन आउट भए । अर्का व्याट्सम्यान सन्जु दमाईको विकेट प्रदेश पाँचका कप्तान शक्ति गौचनले लिएका थिए ।
भारी वर्षाका कारण मैदानमा पानी जमेपछि अफिसियलले खेल नहुने घोषणा गरे र दुवै टोलीलाई एक–एक अंक दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।