काठमाडाैं- स्विट्जरल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलकाे समूह चरण अन्तर्गतकाे अन्तिम खेलमा जित हात पारेकाे छ।
बाकुमा आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्याण्डले पहिलो जित निकालेको हो।
स्विट्जरल्याण्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे। हरिस सेफेरोभीले एक गोल गरे। टर्कीका इरफान केभाचीले एक गोल फर्काए।
खेलको छैटौं मिनेटमा स्विट्जरल्याण्डले हरिस सेफेरोभिचको गोलमा अग्रता लिएको थियो। स्टिभन जुबरको पासमा उनले गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे।
२६औं मिनेटमा जुबरकै पासमा शाकिरीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो।
६२औं मिनेटमा टर्कीले खेलमा फर्कने संकेत देखाएकाे थियाे। पेनाल्टी क्षेत्र बाहिरबाट इरफान च्यान काभेचीले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।
६८औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्याण्डको २ गोलको अग्रता पुन: स्थापना गरे। जुबरले दिएको अन्तिम लो क्रसलाई शाकिरीले गोलमा परिणत गरेका थिए।
समूह ’ए’को अन्तिम खेल समाप्त भएसँगै इटाली ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो। पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो।
वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरे।
वेल्सले ३ खेलमा ४ अंक जोडेको थियाे। पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो।
यसअघि वेल्स र स्विट्जरल्याण्डले खेल १-१ को बराबरीमा सकिएको कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो।
४ अंक जोडेको स्विट्जरल्याण्ड भने अब अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतीक्षा गर्नुपर्ने छ। टर्की भने अंकविहिन रहँदै युरोबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।