काठमाडाैं- स्पेनिस महारथी क्लब बार्सिलोनाले नेदरल्याण्ड्सका फरवार्ड मेम्फिस डिपाएलाई अनुबन्धित गरेकाे छ।
बार्सिलोनाले २७ वर्षीय डिपाएसँग दुई वर्षको सम्झौता भएको जनाएको छ। सम्झौता अनुसार उनी सन् २०२३ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहनेछन्।
उनको बार्सिलोनामा सम्झौता ३० जुन पछि शुरु हुनेछ। बार्सिलोनाले गत सिजनको दुई ट्रान्सफर बजारमा डिपाएलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो। तर, बार्सिलाेना असफल भयाे। उनी हाल डच टिमबाट युरो २०२० खेलिरहेका छन्।
बिहीबार नेदरल्याण्ड्सले अस्ट्रियालाई २-० ले हराउँदा डिपाएले गोल गरेका थिए। नेदरल्याण्ड्स एक खेल बाँकी छँदै समूह ‘सी’ को विजेताको रुपमा १३ वर्षपछि नकआउट चरणमा प्रवेश गरिसकेको छ।
उनी सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लियोनमा आबद्ध भएका थिए। उनले फ्रेन्च क्लब लियोनका लागि १७८ खेल खेल्दा ७६ गोल गरेका थिए।
उनी बार्सिलोनामा सिजनमा फ्रि ट्रान्सफरमा आबद्ध हुने चाैथाे खेलाडी बने। यसअघि म्यानचेस्टर सिटीबाट सर्जियो अग्युरो, स्पेनिस क्लब रियल बेटिसका ब्राजिली राइट ब्याक इमर्सन र इरिक गार्सिया पनि बार्सिलोनामा आबद्ध भएका थिए।
गत सिजन लियोनले डिपाएको लागि गत समरमा २० मिलियन युरो र जनवरीमा १० मिलियन यृरो माग गरेकाे थियाे।
तर, काेराेना महामारीसँगै उदाएकाे आर्थिक मन्दीका कारण बार्सिलोनाले डिपाएलाई अनुबन्ध गर्न सकेको थिएन।
डिपाए अनुबन्धको लागि इटालियन क्लब युभेन्टस र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि चासो देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।