काठमाडाैं- १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह 'एफ'काे खेलमा जर्मनीले पोर्चुगलमाथि सानदार जित हात पारेकाे छ।
म्युनिखस्थित एलिनाज स्टेडियममा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो। जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो। पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे।
यस्तै, काइ हाभर्टेज र रोबिन गोसेन्सले एक/एक गोल गरे। पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक/एक गोल फर्काए।
खेलको पाँचौ मिनेटमा जर्मनले गाेल गरेकाे थियाे। रोबिन गोसेन्सले फरवार्ड सर्ज गनाब्रीकाे पासमा गाेल गरेपनि मान्यता पाएन। गोलअघि क्रस आउने क्रममा नै गनाब्री अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता नपाएकाे हाे।
१०औं मिनेटमा काइ हाभर्ट्जले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक रुइ प्याट्रीसिओले बिफल पारे। १४ औं मिनेटमा पोर्चुगलले अग्रता लियो। काउन्टर अट्याकमा पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पास दिएपछि उनले खाली पोस्टमा गोल गरेका थिए।
जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो। रोनाल्डोको यो १ सय ७ औं अन्तराष्ट्रिय गोल पनि हो। जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो।
२२औं मिनेटमा छोटो कर्नरपछि राफेल गुरेरोले दिएको क्रसलाई रुबेन डियासले ६ यार्ड बक्सभित्र हेडर पास दिएपनि पेपे उक्त बलसम्म पुग्न सकेनन्।
३५औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो। रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो। हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो।
३८औं मिनेटमा जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोले क्लिअरेन्स गर्न खाेज्दा बल आफ्नै पाेस्टमा छिरेकाे थियाे। ४४औं मिनेटमा गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार प्याट्रीसिओले बिफल पारे।
पहिलाे हाफकाे इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्ज गनाब्रीले काउन्टर अट्याकमा पेनाल्टी क्षेत्र भित्र पुगेर गरेको प्रहार प्याट्रीसिओ बचाए।
५१औं मिनेटमा जर्मनीले अग्रता बढायाे। गोसेन्सको क्रसलाई हाभर्ट्जले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा गाेल गर्दै खेल ३-१ ले अगाडी बढाए। उनकाे जारी प्रतियाेगितामा पहिलाे गाेल हाे।
६०औं मिनेटमा पेनाल्टी क्षेत्रको दायाँ भागबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका रोबिन गोसेन्सले हेडरमार्फत् गोल गर्दै जर्मनीकाे अग्रता ४-१ मा पुर्याए।
६६औं मिनेटमा गुरेरोको फ्रिकिकलाई रोनाल्डोले बाहिरिसकेकाे बललाई लाइन भित्रबाट तान्दै दिएकाे पासमा जोटाले गोल गरे। ७८औं मिनेटमा वैकल्पिक खेलाडी रेनाटो सान्चेस अभागी ठहरिए। झन्डै लामो दुरी बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो।
८३औं मिनेटमा लिओन गोरेट्जकाले काउन्टर अट्याकमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएकाे थियाे।
जितसँगै जर्मनी समूहको दोस्रो स्थानमा उक्लिएको छ। पोर्चुगलसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा छ। २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।