काठमाडाैं- १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफकाे खेलमा जर्मनीले पोर्चुगलविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ।
कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले अग्रता लिएपनि लगातार आत्मघाती गोल गरेपछि जर्मनी २-१ ले अघि बढेकाे हाे।
खेलको पाँचौ मिनेटमा जर्मनले गाेल गरेकाे थियाे। रोबिन गोसेन्सले फरवार्ड सर्ज गनाब्रीकाे पासमा गाेल गरेपनि मान्यता पाएन। गोलअघि क्रस आउने क्रममा नै गनाब्री अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता नपाएकाे हाे।
१०औं मिनेटमा काइ हाभर्ट्जले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक रुइ प्याट्रीसिओले विफल पारे। १४ औं मिनेटमा पोर्चुगलले अग्रता लियो। काउन्टर अट्याकमा पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पास दिएपछि उनले खाली पोस्टमा गोल गरेका थिए।
२२औं मिनेटमा छोटो कर्नरपछि राफेल गुरेरोले दिएको क्रसलाई रुबेन डियासले ६ यार्ड बक्सभित्र हेडर पास दिएपनि पेपे उक्त बलसम्म पुग्न सकेनन्।
३५औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो। रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो। हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो।
३८औं मिनेटमा जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोले क्लिअरेन्स गर्न खाेज्दा बल आफ्नै पाेस्टमा छिरेकाे थियाे। ४४औं मिनेटमा गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार प्याट्रीसिओले विफल पारे।
इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्ज गनाब्रीले काउन्टर अट्याकमा आफैं बढाएको आक्रमणमा पेनाल्टी क्षेत्र भित्र पुगेर गरेको प्रहारमा प्याट्रीसिओ बचाए।
पहिलो खेलबाट पोर्चुगलले ३ अंक जोड्दा जर्मनी अंकविहिन छ। यो खेलमा जित हासिल गरे पोर्चुगलले अन्तिम १६ मा स्थान पक्का गर्नेछ। शीर्ष २ मा रहन जर्मनीलाई भने यस खेल जित्नपर्ने दबाब रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।