काठमाडाैं- एन्टोनियो ग्रिजम्यानले १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्सलाई हारबाट जाेगाएका छन्।
हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो। घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजम्यानले दोस्रो हाफमा गोल गर्दै विश्वविजेता फ्रान्सलाई हारबाट जोगाएका हुन्।
फ्रान्सले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि काउन्टर अट्याकमा गोल खान पुगेको थियो। १४औं मिनेटमा केलियन एमबाप्पेको पासमा करिम बेन्जेमाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई हंगेरीका गोलरक्षक पिटर गुलाक्सीले समाउने क्रममा नियन्त्रण गुमाएका थिए।
रिवाउन्डमा ग्रिजम्यानको प्रहार गोलरक्षक गुलाक्सीले दोहोरो बचाउ गर्दा फ्रान्स अग्रता लिनबाट चुक्यो। १७औं मिनेटमा बेन्जेमाको पासमा लुकास डिग्नेले मिलाइदिएको पासमा एमबाप्पेको हेडर पोस्ट नजिकैबाट बाहिरियो।
३१औं मिनेटमा पउल पोग्वाले दिएकाे पासलाई एमबाप्पेले पेनाल्टी बक्समा नियन्त्रणमा लिँदै बेन्जेमालाई मिलाइदिएकाे बल वान टचमै भलीमार्फत् गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियाे।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाए। राफयल भरानको क्लियरेन्समा रोलान्ड सल्लाईले काउन्टर अट्याकमा अघि फालेको बललाई एटिला फिओलाले गोल गरे।
४९औं मिनेटमा मिनेटमा पोग्वाको गरेको क्रसलाई गुलाक्सीले पञ्च गरिदिए। ५९औं मिनेटमा सब्सिच्युट औसमाने डेम्वेलेको पेनाल्टी बक्सबाहिरको प्रहार पोलमा लागेर फर्कियाे।
६६औं मिनेटमा कप्तान तथा गोलरक्षक ह्युगो लोरिसको फालेको लामो पासलाई दुई डिफेन्डरबीचबाट नियन्त्रणमा लिँदै ग्रिजम्यानले गरेकाे प्रहार सिधै गाेलमा परिणत भयाे।
पेनाल्टी बक्सभित्रबाट गरेको क्रसलाई हंगेरीका विल्ली ओर्वानले क्लियर गर्ने प्रयास गरेपनि ग्रिजम्यानलाई राम्राे ठाउँमा पास मिलाइदिएका थिए।
बराबरीसँगै समूह ‘एफ’ मा फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ। यता, हंगेरीले दुई खेलबाट १ अंक जोेडेको छ। पोर्चुगलको ३ तथा जर्मनी अंकविहीन छ। यही समूहको अर्काे खेलमा केहीवेरमा पोर्चुगल र जर्मनी खेल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।