काठमाडौं– आन्दोलनको अगुवाई गरिरहेको नेपाल चिकित्सक संघले सरकारसँग सम्झौता गरेपछि डाक्टरहरु दुई कित्तामा विभाजन भएका छन्।
युवा डाक्टरहरु संगठित डाक्टरहरुकै अर्काे संस्था डक्टर्स सोसाइटी अफ नेपालले बिज्ञप्ति जारी गर्दै संघकै औचित्यमाथि प्रश्न उठाएको छ र आफूहरु सम्झौता मान्न तयार नरहेको घोषणा गरेको छ।
संघको नेतृत्वलाई निश्चित व्यक्तिका स्वार्थमा फसेर सम्झौता गरेको आरोप समेत लगाइएको छ । सोसाइटीले डाक्टरको एकताको दुरुपयोग गरेको ठहर गर्दै केही सिमित राजनीतिक नाइकेहरुको चङ्गुलमा चिकित्सक संघका पदाधिकारी फसेको बिज्ञप्तिमा उल्लेख गरेको छ। भनिएको छ, ‘हाम्रो एकताको दुरुपयोग गरी आफ्ना समूहका मानिसलाई पोषण गर्ने अभिप्राय झल्किएको सम्झौताले नेपाल चिकित्सक संघकै औचित्यमाथि प्रश्न उठाएको छ । यस्तो विश्वासघाति कदमको कदापि समर्थन नहुने व्यहोरा जनाउँदछौं ।’
उनीहरुले ‘जेल विथ आउट बेल’को कानूनलाई लागू गर्नुपर्ने, डाक्टरहरुले अत्यन्तै न्युन पारिश्रमिकमा असिमीत परिश्रम गर्नुका साथै शारिरिक तथा मानसिक र भौतिक यातना झेल्नुपरेकाल उचित पारिश्रमिक, सुविधा तथा सामाजिक सुरक्षाको प्रत्याभूति आफूले खोजेको बताएका छन्।
सिमीत व्यक्तिको राजनीतिक स्वार्थ र निजि संस्था सञ्चालकका निहित स्वार्थ मात्र सम्झौताले पूरा गरेको उनीहरुले बताएका छन्।
नेपाल चिकित्सक संघलाई आन्दोलन थप सशक्त बनाउन दिएको सुझावलाई लत्याएर उल्टै समस्त चिकित्सकहरुलाई निरुत्साहित पार्ने गरी सम्झौता गरेको बताइएको छ।
सरकारसँग सम्झौता गर्दा आन्दोलनका मुख्य खम्बा युवा चिकित्सकलाई वेवास्ता गरिएको प्रति पनि उनीहरुको चित्त दुखाइ छ ।
आफूहरुले उठाएका सम्पूर्ण माग पूरा नहुन्जले आन्दोलन जारी रहने पनि सोसाइटीका अध्यक्ष डा कालुसिंह खत्री र महासचिव डा तोसीमा कार्की हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।