काठमाडाैं- युरोकप २०२० अन्तर्गत आज तीन खेल हुँदैछन्। जस अन्तर्गत समूह ‘ई’ मा एक र ‘डी’ मा दुई खेल हुन लागेका हुन्। पहिलो खेलमा समूह ‘ई’मा रहेका स्विडेन र स्लोभाकिया प्रतिस्पर्धा गर्दैछन्। यो खेल रसियाको सेन्ट पिटर्गवर्गमा साँझ ६:४५ मा हुनेछ।
पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको स्लोभाकियाले स्विडेनलाई पराजित गर्न सके अन्तिम खेलअघि नै अन्तिम १६ मा पुग्नेछ।
स्लोभाकियाले हालसम्म स्वीडेनलाई पराजित गर्न सकेको छैन। स्लोभाकिया लगातार दोस्रो संस्करण युरोको अन्तिम १६ मा प्रवेश गर्न चाहन्छ। तर, यो खेल भने सहज हुनेछैन। स्विडेनले पहिलो खेलमै उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोकेको थियो।
स्पेनले ८५ प्रतिशत बल नियन्त्रण गर्नाका बावजुद स्विडेनले बराबरी खेल्न सकेको थियो। स्लोभाकियाले पछिल्ला पाँच खेलमा स्विडेनलाई हराउन सकेको छैन। पाँच मध्ये तीन खेलमा स्विडेन विजयी हुँदा दुई खेल बराबरीमा सकिएका छन्।
स्वीडेन सन् २००० देखि लागतार युरोमा सहभागी भएपनि २००४ यता नकआउट चरणमा प्रवेश गर्न असफल रहँदै आएको छ।
यस समूहमा स्लोभाकियाको ३ अंक, स्पेन र स्वीडेनको १-१ अंक तथा पोल्याण्ड अंकविहिन छ। समूहको अर्को खेलमा शनिबार पोल्याण्ड र स्पेन भिड्नेछन्।
दिनको दोस्रो खेलमा क्रोएसिया र चेक गणतन्त्रबीच खेल हुनेछ। समूह ‘डी’ को यो खेल राति ९:४५ बाट ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा हुनेछ।
यो खेलमा जित हात पार्न सके चेकले अन्तिम १६ मा स्थान पक्का गर्नेछ। अघिल्लो खेलमा चेकले स्कटल्याण्डलाई पराजित गरेको थियो। यस्तै क्रोएसिया भने इंग्ल्याण्डसँग पराजित भएको थियो।
पछिल्ला तीन खेलमा क्रोएसियामाथि चेकले जित हात पार्न सकेको छैन। तीन मध्ये दुई खेल बराबरीमा सकिदा एक खेलमा क्रोएसिया विजयी भएको छ।
चेक रिपब्लिकले युरोको पहिलो खेलमा यसै मैदानमा खेल्दै घरेलु टोली स्कटल्याण्डलाई २-० ले पराजित गरेको थियो।
युरोको अघिल्लो संस्करणमा पनि यी दुई टोलीले समूह चरणमा खेलेका थिए। उक्त खेलमा इभान पेरिसिच र इभान राकिटिचको गोलमा २-० ले पछि परेपनि अन्तिम १५ मिनेटमा चेक खेल बराबर गर्न सफल रहेको थियो।
क्रोएसिया त्यस संस्करणमा समूह विजेता बनेको थियो भने चेक १ अंकसहित पुछारमा रहेको थियो। चेकविरुद्ध मैत्रीपूर्ण खेलमा क्रोएसियाले १ जित र १ बराबरीको नतिजा निकालेको छ।
आजको खेलमा पराजित भए क्रोएसिया अर्को चरणमा पुग्ने सम्भावना निकै कम हुनेछ। यता चेक पहिलो खेलमा सिकको दुई गोलमा जितबाट उच्च मनोबलमा छ। स्कटल्याण्डले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि सेभियाका गोलरक्षक टोमस भाच्लिकले सानदार प्रदर्शन गरेका थिए।
यस समूहमा चेक र इंग्ल्याण्डको ३-३ अंक छ भने क्रोएसिया र स्कटल्याण्ड खाता खोल्ने प्रयासमा छन्।
दिनको अन्तिम खेल लन्डनस्थित वेम्बली रंगशालामा राति १२:४५ बजे इंग्ल्याण्ड र स्कटल्याण्डबीच खेल हुनेछ। इंग्ल्याण्डले पहिलो खेलमा क्रोएसियालाई पराजित गर्दै ३ अंक जोडेको छ।
रहिम स्टर्लिङले दोस्रो हाफमा गरेको गोलसँगै इंग्ल्याण्ड विजयी सुरुवात गर्न सफल भएको थियो। यता स्कटल्याण्ड भने चेक रिपब्लिकसँग २-० ले पराजित हुन पुगेको थियो।
इंग्ल्याण्डले स्कटल्याण्डलाई हराए अन्तिम १६ मा स्थान पक्का गर्नेछ। स्कटल्याण्डलाई अब अर्को चरणमा स्थान बनाउने सम्भावना जगाउन आजको खेलमा जित्नुपर्ने छ।
यी दुई टिमबीच अहिलेसम्म भएका ३२ भिडन्तमध्ये इंग्ल्याण्डले १८ खेलमा जित हात पारेको छ। यस्तै, ९ खेलमा स्कटल्याण्ड विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन्।
यी दुईबीच वेम्बली मैदानमा भएको ३२ खेलमा इंग्ल्याण्डले १८ खेल जित्दा स्कटल्याण्ड ९ खेलमा विजयी भएको छ। यी दुई टोलीबीच भएको पछिल्लो १५ खेलमा बराबरी भएको छैन।
यी दुईले सन् २०१८ को विश्वकप छनोटमा खेलेका थिए। ५ वर्षअघि भएको उक्त खेलमा इंग्ल्याण्ड ३-० ले विजयी रहेको थियो। सन् २०१७ को मैत्रीपूर्ण खेलमा भने केनले इन्ज्युरी समयमा गोल गर्दै २-२ को बराबरी पक्का गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।