काठमाडाैं- पुनरागमन जित निकाल्दै बेल्जियम १६औं संस्करणको युरोकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ।
कोपेनहेगनमा बिहीबार राति भएकाे खेलमा घरेलु टाेली डेनमार्कमाथि २-१ ले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हाे।
पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन इडेन हाजार्ड र केभिन डी ब्रुएनले एक/एक गोल गरे। डेनमार्कका युसुफ पाउलसेनले एक गोल गरेपनि जितकाे लागि प्रयाप्त बनेन।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो। खेलको दोस्रो मिनेटमै पिएर एमिल होएबिएरको पासमा पाउलसेनले बेल्जियमको डिफेन्समा कमजोरीको फाइदा उठाउँदै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए। पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार सिधैं गाेलमा परिणत भएकाे थियाे।
बेल्जियमले पहिलो हाफमा गोलको केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन। तर, दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो। खेलको ४६औं मिनेटमा प्रशिक्षक रोबर्टो मार्टिनेजले ड्रिएस मेर्टेन्सको स्थानमा ब्रुएनलाई मैदान प्रवेश गराएका थिए।
५५औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए। उनले ब्रुएनको पासमा गोल गरे। पेनाल्टी क्षेत्रभित्र ब्रुएनले डिफेन्स लाइनलाई ताेड्दै दिएको पासलाई हाजार्डले गोलमा परिणत गरेका थिए।
७१औं मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए। ब्रुएनले कप्तान हाजार्डको पासमा गोल गरेका थिए। डेनमार्कले ८७औं मिनेटमा मार्टिन ब्रेथवेटले स्कोभ ओल्सनको क्रसमा गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएकाे थियाे।
जितसँगै बेल्जियम समूह 'बी'को २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा पुगेको छ। बेल्जियमले नकआउट चरणमा पनि स्थान पक्का गरेको छ।
फिनल्यान्ड र रसियाको समान ३-३ अंक छ। डेनमार्क भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट नै बाहिरिने सम्भावना बढेको छ। त्यस्तै, आजै भएकाे पहिलो खेलमा युक्रेनले पहिलोपटक युरोकप खेलिरहेको नर्थ म्यासेडोनियालाई २–१ ले पराजित गरेको थियाे।
रोमानियास्थित एरिना नेसनल बुखारेस्टमा बिहीबार भएको खेलमा युक्रेनको जितमा एन्ड्रिय यार्माेलेन्को र रोमन यारेमचुकले गोल गर्दा नर्थ म्यासेडोनियाका इज्ग्जान एलिओस्कीले एक गोल फर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।