काठमाडाैं- स्पेनिस महारथी रियल मड्रिडले आफ्ना कप्तान सर्जियो रामोसकाे बिदाइ गरेको छ। बिहीबार एक कार्यक्रमको आयोजना गर्दे क्लबका अध्यक्ष फ्लारेन्टिनो पेरेजले सेन्टर ब्याक रामोसलाई रियलको ब्याच प्रदान गर्दै बिदाइ गरेका हुन्।
रियलले बुधबार राति विज्ञप्ति जारी गर्दै रामोसले सम्झाैता सकिनु अगाडी नै क्लब छाड्न लागेकाे पुष्टि गरेको थियो। उनले भने बिहीबार औपचारिक रुपमा यसको घोषणा गरेका थिए।
अध्यक्ष पेरेजले नयाँ सम्झौता हुन नसकेपनि रामाेसलाई जुनसुकै समय रियलमा स्वागत गर्न आतुर रहेको बताए।
'यो सजिलो दिन होइन, तपाईं हाम्रा लागि विशेष हुनुहुन्छ। रियल तपाईंको घर हाे,' अध्यक्ष पेरेजले भने, 'तपाईं रियलको एक महान योद्धामध्ये एक हाे। तपाईंलाई जुनसुकै बेला स्वागत गर्न हामी आतुर छाैं।'
८ सेप्टेम्बर २००५ रामोस बर्नबेउमा आइपुगेका थिए। १६ सिजन रियलका लागि खेलेका रामोसले ६ सय ७१ खेलमा १ सय १ गोल गरेका छन्।
उनले ५ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, २ पटक कोपा डेल रे, ४ पटक स्पेनिस सुपर कप, ३ पटक यूईएफए सुपर कप र ४ पटक क्लब विश्वकपसहित रियलका लागि २२ उपाधि जिताएका छन्।
बिदाइको क्रममा निकै भावुक देखिएका रामोसको आँशु थामिएको थिएन। बिदाइ समारोहमा बोल्दै रामोसले 'पछि भेटौंला' भने।
'म बुवासँग हातेमालो गर्दै यहाँ आइपुगेको थिए। मलाई हाम्रो स्टेडियम सान्टियागो बर्नाबेउमा बिदाइ लिने इच्छा थियो। त्यो समय आयो, जुन मेरो जीवनको सबैभन्दा गाह्रो छ। धन्यवाद रियल। मेरो हृदयमा सधैँ रहनेछ। यो मेरो जीवनको अद्भुत अदृतिया अवधिको अन्त्य हो। यहाँ मैले धेरै ट्रफी जितेको छु। सबैलाई धेरैधेरै धन्यबाद, फेरि भेटौंला,' उनले भने।
३५ वर्षीय रामोस सन् २००५ मा सेभियाबाट रियल आएका थिए। नवनियुक्त प्रशिक्षक कार्लो एन्चेलोटिले रामोसलाई बस्न आग्रह गरेपनि उनले आफ्नो मागअनुसार क्लबले सम्झौता नदिने भएपछि अन्यत्र नै आफ्नो भविष्य देखेका हुन्।
कता जान्छन् रामाेस ?
रामोसको भविष्य अहिले अनिश्चित बनेको छ। चोटले सताएपछि गत सिजन रामोसले पूरा खेल्न पाएनन्। त्यसैकारण उनले युरोकप खेल्नका लागि राष्ट्रिय टाेलीमा पनि स्थान बनाउन सकेनन्। यद्यपि, उनले अझै पनि दुई वर्ष खेल्ने स्पेनिस अनलाइन मार्काले जनाएको छ।
मार्काले उनको सम्भावित गन्तव्यमा इटली र इङ्ल्याण्ड रहेकाे जनाएकाे छ। इटलीको ट्याक्सेसन सिस्टम आकर्षक छ। यस्तै, प्रिमियर लिग क्लबद्वय म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटी पनि उनलाई भित्र्याउन इच्छुक छ।
यसका साथै फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र चिनियाँ क्लबबाट पनि उनलाई प्रस्ताव आएकाे छ। तर, उक्त प्रस्तावमा रामोस इच्छुक नरहेको मार्काले जनाएकाे छ।
रामोस सेभियामै फर्कन पनि सक्नेछन्। त्यहाँ उनकी श्रीमती काम गर्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।