काठमाडाैं- रसियाले युराेकपमा पहिलो जित दर्ता गरेको छ। बुधबार घरेलु टोली रसियाले फिनल्याण्डमाथि १–० को जित निकालेको हो।
सेन्ट पिटर्सबर्गमा बुधबार साँझ भएको खेलमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो। उनले पहिलो हाफको अन्त्यतिर गोल गरेका थिए। यस अगाडी रसिया पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो।
चौथो मिनेटमा जोएल पोहानपालोले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन। जुक्का राइटाले डलेर कुजाएभलाई छक्याउँदै दिएको क्रसमा पोहानपालोले ६ यार्ड बक्सभित्रबाट हेडमार्फत् गोल गरेका थिए।
१४औं मिनेटमा मिरानचुककै पासमा कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेर फर्कदा रसिया अग्रता लिनबाट चुक्यो। २१औं मिनेटमा पोहानपालो वान भर्सेस वानको अवस्थामा चुके।३१औं मिनेटमा एलेक्सान्डर गोलोभिनको पासमा सेन्टर ब्याक डिभिभको हेडरले पोस्टको दिशा लिन सकेन।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मिरानचुकले गोल गर्दै रसियालाई १–० को अग्रता दिलाए। कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा मिरानचुकले गरेको लेफ्ट फुटेट प्रहारले जाली चुमेकाे थियाे।
६६औं मिनेटमा रिफाट जेमालेटडिनोभको प्रहार फितलो बन्यो। ६९औं मिनेटमा पुकीले अर्काे अवसर खेर फाल्दा फिनल्यान्ड बराबरीबाट चुक्यो।
इन्ज्युरी समयको पहिलो मिनेटमा झेमालेत्दिनोभले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो।
यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ। समान ३ अंक नै भएपनि बेल्जियम गोलको आधारमा शीर्ष स्थानमा रहेकाे छ।
फिनल्याण्ड हेड टु हेडमा रसियासँग पछि छ। अब रसियाले डेनमार्कसँग तथा फिनल्याण्डले बेल्जियमसँग खेल्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।