पर्वत- गएको शनिबारदेखिको अविरल वर्षापछि आएको बाढीले पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका नौ घर बगाएको छ।
सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो। मंगलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो।
मंगलबार दिउँसो बहाव केही घटेपनि साँझ फेरि बढेर घर बगाएको स्थानीयवासी तिलक पराजुलीले बताए। उनका अनुसार स्थानीय केशवराज न्यौपाने, लक्ष्मी न्यौपाने, रेशमलाल नौपाने, गोपाल सुनार, शक्ति श्रेष्ठ, माया क्षेत्री र विक्रम श्रेष्ठलगायतको घर बाढीले बगाएको हो।
अहिले विस्थापित बनेका परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। कालीगण्डकी र सेतीखोला दुवैको बहाव बढेर पर्वत र स्याङ्जा जोड्ने सेतीखोला माथिको पुलबाट पानी बग्न लागेपछि बजारवासीमा आत्तिएका थिए। अहिलेसम्म मानवीय क्षति भने नभएको पराजुलीले बताए। बाढीले भत्काएका घरबाट बजारवासीले अत्यावश्यक वस्तुहरु निकालेका थिए।
अहिले स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा रहेको छ। त्यसैगरी, विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ भने शिला नजिकै रहेका सत्तलहरु समेत बगाएको छ। सेतीवेणीमा रहेको प्रहरी चौकीले विस्थापित भएका घरधुरीलाई सुरक्षित स्थानमा सार्न र सतर्कता अपनाउन आग्रह गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।