काठमाडाैं- युरोकप २०२० मा आज तीन खेल हुँदैछन्। जसअनुसार समूह 'बी' अन्तर्गत एक र 'ए' मा दुई खेल हुनेछन्। समूह 'बी' अन्तर्गत पहिलाे खेल साँझ ६:४५ बजे फिनल्याण्ड र रसियाबीच खेल हुँदैछ। याे खेल रसियाको सेन्ट पिटर्सवर्गमा हुनेछ।
पहिलो खेलमा युरोमा डेब्यू गरेकाे फिनल्याण्डले डेनमार्कलाई हराएको थियो। रसिया भने पहिलो खेलमा पराजित भएको थियो। फिनल्याण्ड पहिलो खेलमा नै जित हात पारेपछि सोही जितको लयलाई रसियाविरुद्ध पनि कायम राख्न चाहन्छ ।
टोलीसँग टिमु पुकी, जोएल पोहानपालो र गोलरक्षक लुकास ह्रादेच्कीजस्ता खेलाडीको साथ रहेको छ। फिनल्याण्डका सेन्टर ब्याक जुना टोइभिओ रुसविरुद्ध फिट हुने प्रयास गर्नेछन्। विंगर निकोलाई अल्हो चोटबाट मुक्त हुँदै टिममा फर्किएका छन्।
यता, रसियालाई बेल्जियमले ३-० गोलले पराजित गरेको थियो। अन्तिम १६ मा स्थान बनाउनका लागि रसिया आज घरेलु मैदानमा जित निकाल्ने योजनामा छ।
रसियालाई समूह चरणबाट अघि बढ्न जितको खाँचो छ। बराबरी या हारले टोलीको अघिल्लो चरण पुग्ने सम्भावना झिनो बन्नेछ। रसियाका लेफ्ट ब्याक युरी झिर्कोभ फिनल्याण्डविरुद्ध टिम बहिर रहनेछन्। बेल्जियमविरुद्धको खेलमा उनले चोट बोक्न पुगेका थिए।
समूह चरणमा बेल्जियम ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान ३ अंक भएपनि फिनल्याण्ड दोस्रो स्थानमा रहँदा अंकविहीन डेनमार्क र रसिया पुछारमा रहेको छ। यस्तै, अर्काे खेल राति ९:४५ बजे हुनेछ। समूह 'ए' मा रहेकाे टर्की र वेल्सबीचको खेल आजरबैजानको बाकुमा हुनेछ।
पहिलो खेलमा टर्की पराजित हुँदा वेल्सले बराबरी खेलेको थियो। टर्कीलाई इटालीले ३-० गोलले पराजित गरेको थियो। वेल्सले भने स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो। वेल्स फरवार्ड ग्यारेथ बेलको कप्तानीमा मैदान उत्रने छ। बेल वेल्सको सर्वाधिक गोलकर्ता हुन्। उनले ९२ खेलमा ३३ गोल गरिसकेका छन्।
वेल्सलाई चोटले सताउने छैन। वेल्सका सबै खेलाडी फिट रहेका छन्। वेल्सका मुख्य प्रशिक्षक रोबर्ट पेजले खेलाडी पुर्णरुपमा फिट र खेलका लागि तयार भएको बताउछन्।
गत नोभेम्बरमा नेशन्स लिगमा हंगेरीसँग २–० ले पराजित भएयता अपराजित टर्कीले त्यसपछि चार जित र दुई बराबरीको नतिजा निकालेको थियाे। टोलीसँग अर्टिम ज्युवा, एलेक्सान्दर गोलोभिन र एलेक्सी मिरानचुकलगायतको खेलाडीको साथ छ।
समूह 'ए' कै खेलमा राति १२:४५ बजे उपाधि दाबेदार इटाली र स्विट्जरल्याण्डबीच खेल हुनेछ। खेल इटालीको रोममा हुनेछ। पहिलो खेलमा जित निकालेको इटाली दोस्रो जित निकालेर अन्तिम १६ को यात्रा बलियो बनाउन चाहन्छ। पहिलो खेलमा बराबरीमा रोकिएको स्विटरल्यान्डका लागि इटालीविरुद्धको खेल महत्वपूर्ण छ।
स्विजरल्याण्ड ग्रानिट जाकाको कप्तानीमा मैदान उत्रने छ। स्विजरल्याण्डको टिम पूर्ण फिट रहेको छ। स्विजरल्याण्डका मुख्य प्रशिक्षक भ्लादमिर पेट्कोभिच बलियो टिमविरुद्ध जितकै लागि मैदान उत्रने बताएका छन्।
युरोकप अघिको दुई अभ्यास खेलमा जित निकालेको इटाली ११ सेप्टेम्बर २०१८ मा नेशन्स लिगमा पोर्चुगलसँग १–० ले पराजित भएयता पछिल्लो २८ खेलमा अपराजित छ।
सन् २०१८ को युरो कपमा जर्मनीसँग क्वाटरफाइनलमा इटली पराजित भएको थियो। त्यसको दुई वर्षपछि भएको विश्वकपमा इटली छनोट हुन सकेन। त्यसपछि टिममा अहिले धेरै परिवर्तन आइसकेको छ।
फिफा वरीयतामा सातौं स्थानमा रहेको इटलीले एक पटक युरोकप जितेको छ। रोबर्टो मान्सिनीले टिम सम्हालेपछि पोल्याण्डसँग 'ड्र' खेलेको इटली त्यसपछि पोर्चुगलसँग नेशन्स लिगमा पराजित भएको थियो। इटाली सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।