काठमाडाैं- नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिले सेयरबजारमा पहिरो ल्याएको छ। बोर्डले सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ वटा कम्पनीको सूचीसहित सचेत भएर लगानी गर्न लगानीकर्तालाई अपिल गरेको थियो।
त्यसको प्रभाव बुधबार (आज) सेयर बजारमा देखिएको हो। यसअघि लगातार बढेर तीन हजार विन्दु पार गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५२.३९ अंकले घटेर २९६९.७२ विन्दुमा ओर्लिएको छ। आज प्राय: सबै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
साथै, कारोबार रकम पनि १५ अर्ब ४८ करोडमा सीमित भएको छ। नेप्सेमा आज कूल २१९ कम्पनीको दुई करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर एक लाख ६७ हजार ९३८ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.९० प्रतिशतले कमाएका छन्। जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.९४ प्रतिशतका दरले गुमाएका छन्।
आज नेपाल पुनर्बिमा कम्पनीको सेयर ६० करोड ९० लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेसनल हाइड्रोपावर कम्पनीका सेयर सबैभन्दा बढी १५ लाख ७० हजार ७७ कित्ता र सबैभन्दा धेरै चार हजार ९०८ पटक किनबेच भएका छन्।
आज ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ८.५४ अंकले घटेर ५४१.७२ विन्दुमा कायम भएको छ। साथै, माइक्रोफाइनान्सबाहेक सबै समूहको परिसूचक घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।