काठमाडौं- एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको प्लेअफ खेल्न नपर्ने भएको छ।
उत्तर कोरियाले नाम फिर्ता लिएपछि एएफसीले बुधबार छनाेट प्रक्रिया परिमार्जन गर्दै सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ।
एएफसीका अनुसार चीन र कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो। नेपालले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूह 'बी' मा रहँदै ६ अंक जाेडेकाे थियाे। नेपाल चाैथाे स्थानमा रहेकाे थियाे।
नेपालसँगै थाइल्याण्ड, सिंगापुर, मंगोलिया र अफगानिस्तान तेस्रो चरणमा अघि बढ्न सफल भए। त्यस्तै, समूहको पुछारमा रहेका यमन, बंगलादेश र म्यानमार पनि सिधै तेस्रो चरणमा पुगेका छन्।
पहिले चौंथो स्थानमा रहँदा समेत प्लेअफ खेल्ने प्रावधान भएपनि एएफसीले त्यो नियममा पनि परिमार्जन गरेकाे छ। याेसँगै माल्दिभ्स, हङकङ र श्रीलंकाले पनि चौथो स्थान बनाएका छन्।
दोस्रो स्थानमा रहेरपनि शीर्ष टोली बन्न नसकेका ताजिकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, कुवेत तथा तेस्रो स्थानमा रहेका जोर्डन, बहराइन, प्यालेस्टाइन, भारत, थाइल्याण्ड, फिलिपिन्स, तुर्कमेनिस्तान, अफगानिस्तान, मलेसिया, सिंगापुर र मंगोलियाले पनि सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्नेछन्।
यससँगै दोस्रो स्थान हासिल गर्नेमध्ये पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८-८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएका छन्।
सबै समूहमा कुनै अंक बिना पुछारमा समूह चरण सक्काएका इन्डोनेसिया, चाइनिज ताइपेइ, गुआम, कम्बोडियाले भने अब प्लेअफ खेल्नेछन्। यी टोलीबीच प्लेअफ सेप्टेम्बर ७ देखि अक्टोबर १२ सम्म हुनेछ। प्लेअफका दुई बिजेताले त्यसपछि तेस्रो चरणमा खेल्ने छन्।
विश्वकप तथा एसियन कप छनोट समापन भएसँगै एसियाबाट विश्वकप छनोट खेल्ने, एसियन कपमा छनोट हुने र एसियन कप छनोटको तेस्रो चरण खेल्ने टोलीको टुंगो पनि लागेको छ।
यसैअनुसार जापान, सिरिया, कतार, दक्षिण कोरिया, अष्ट्रेलिया, इरान, यूएई, साउदी अरेबिया, इराक, ओमान, भियतनाम, लेबनान र चीन एसियन कपका लागि सिधै छनोट भइसकेका छन्।
दुई टोली प्लेअफबाट आएपछि तेस्रो चरणमा 'ड्र' हुनेछ। कूल २४ टोलीलाई ६ समूहमा विभाजन गरेर राउन्ड रोबिन आधारमा होम एण्ड अवे अनुसारले खेल्ने छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।