काठमाडाैं- साविक विजेता पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै युराेकपमा विजयी सुरुवात गरेको छ। ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’को पहिलो खेलमा पोर्चुगलले अन्तिम समयमा लगातार तीन गोल गर्दै सुखद् सुरुवात गरेको हो।
बुढापेस्टस्थित पुस्कास एरेनामा भएकाे खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। यता, राफायल गुइरेरोको नाममा एक गोल रह्यो।
पहिलो हाफमा निरन्तर आक्रमण बुनेपनि पोर्चुगलले गोल गर्न सकेको थिएन। ३०औं मिनेटमा रोनाल्डोकै हेडरले पोस्टको दिशा लिन नसक्दा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो।
४३औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा रोनाल्डोले पेनाल्टी क्षेत्र भित्रबाट सहज अवसरलाई पोस्टभन्दा माथिबाट प्रहार गरेका थिए।
दोस्रो हाफमा हंगेरीले आफ्नो रक्षात्मक रणनीति कायम राख्दै काउन्टर अट्याकमा पनि अघि बढेको थियो। ८०औं मिनेटमा जाबोलाक्स सोनले गोल गरेपनि असिस्टेन्ट रेफ्रीले उक्त मुभलाई अफसाइड दिएका थिए।
८४औं मिनेटमा पोर्चुगलले अग्रता लियो। राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।
अग्रता लिएको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टी पायो। विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे। रोनाल्डोले गोलरक्षकलाई विपरित दिशामा डाइभ गरेका थिए।
इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गरे। सिल्भाकै पासमा पेनाल्टी क्षेत्रभित्र गरेकाे प्रहार गाेलमा परिणत हुँदा पाेर्चुगले ३-० काे सहज जित हात पार्याे।
जितसँगै पोर्चुगलले महत्त्वपूर्ण ३ अंक जोडेको छ। यस समूहको अर्को खेलमा आज नै जर्मनी र फ्रान्स भिड्दैछन्।
राेनाल्डाेकाे कीर्तिमान
हंगेरीविरुद्ध ३६ वर्षीय रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।
दुई गोल गरेसँगै उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन्। रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले गरेको ९ गोलको कीर्तिमान तोडेका हुन्।
रोनाल्डोले यस अगाडी सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए।
पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन्। यस्तै, उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बने।
यसअघि उनले २००४, २००८, २०१२ र २०१६ मा युरो कप खेलिसकेका छन्। उनले युरोकपमा सर्वाधिक २३ खेल समेत गरेका छन्। उनले छनोटसहित गरेर सर्वाधिक ४२ गोल गरेका छन्।
यस्तै, अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोल गर्नेमा रोनाल्डो अहिले १०६ गोलसहित दोस्रो स्थानमा छन्। इरानका अली दाईको कीर्तिमानभन्दा उनी ४ गोलले मात्र पछि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।