काठमाडाैं- लगातार बढेर दैनिकजसो रेकर्ड बनिरहेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक ३०२५.८३ विन्दुमा पुगेको थियो। आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा झरेको छ।
नेप्सेमा आज १६ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कूल २२६ वटा कम्पनीका तीन करोड नाै लाख ४८ हजार ८५३ कित्ता सेयर एक लाख ६४ हजार ७९० पटक खरिद-बिक्री भएका थिए।
आज सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.८८ प्रतिशतका दरले कमाएका छन्। छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ७.६६ प्रतिशतका दरले गुमाएका छन्।
आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ७६ करोड ३० लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। सङ्ख्यात्मक आधारमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका ११ लाख ९२ हजार ११३ कित्ता सेयर किनबेच भएका थिए। सोही कम्पनीका सेयर सबैभन्दा बढी छ हजार ७४६ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
नेप्से परिसूचक घटे पनि आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ अंकले बढेर ५५०.२६ विन्दुमा कायम भएको छ।
आज होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढ्दा बाँकी सबै समूहका परिसूचक घटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।