काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश २ र ३ ले जित हात पारेका छन्। मंगलबार भएको समूह 'बी' अन्तर्गतको खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ३ विकेटलाई हरायो। समूह 'ए' को खेलमा प्रदेश २ ले ले प्रदेश ४ लाई ६७ रनले पराजित गरेको छ।
प्रदेश २ को यो दोस्रो खेलमा पहिलो जित हो भने प्रदेश ३ ले विजयी सुरुवात गरेको हो। यता कर्णाली प्रदेश र प्रदेश चारले खेलका दुवै खेलमा हार बेहोरेका छन्।
कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेश ४७.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो। कर्णालीका कप्तान रवीन्द्र शाही र दिवान पुनले समान ५२–५२ रन बना। यस्तै टेक सलामीले २६ रन जोडे। बलिङतर्फ ३ का किशोर महतो र जितेन्द्र ठकुरीले २–२ विकेट लिए।
१ सय ७९ रनको लक्ष्य प्रदेश ३ ले ३७.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि रुपेश श्रीवास्तवले ३९, किशोर महतोले २५, आदिल खानले ३१ र इशान पाण्डेले २३ रन बनाएको थिए। सुरुवाती ३ विकेट १० रन बनाउदा गुमाएको प्रदेश ३ का मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरे।
बलिङतर्फ कर्णालीका चन्द्र बिसी एक्लैले ६ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन्। १० ओभर बलिङ गरेका बिसीले १ मेडन राख्दै ४१ रन खर्चिएका थिए। उनी खेलको म्यान अफ द म्याच घोषित भए।
मुलपानी मैदान टस जितेर ब्याटिङ गरेको प्रदेश दुई ४४.३ ओभरमा १ सय ५८ रनमा अलआउट भयो। प्रदेश २ का लागि विसाल सुस्लिङले २६, रसिद खानले १८ बनाए। कप्तान महबुब आलम र राहुलप्रताप सिंहले १७–१७ रनको योगदान दिए। बलिङतर्फ प्रदेश ४ का हरि चौहान र विपिन खत्रीले ३–३ विकेट लिए।
१ सय ५९ रनको लक्ष्य प्रदेश ४ ले २८.५ ओभरमा ९१ रनमा बनाउँदा सवै विकेट गुमायो। १३ रनमा पहिलो विकेट गुमाएको प्रदेश ४ का खेलाडीबीच राम्रो साझेदारी हुन सकेन। उसका लागि अनिल गुरुङले ३६ र सुमा घिमिरेले ३२ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
प्रदेश ४ को ब्याटिङ लाइन ध्वस्त पार्न चार बर्षपछि मैदानमा फर्किएका संजम रेग्मीले उत्कृष्ट बलिङ गरे। १० ओभर बलिङ गरेको संजमले ३ मेडन र ५ विकेट लिँदै १६ रनमात्र खर्चिए। उनी खेलको म्यान अफ दि म्याच भए। सांसद शेखले पनि ८ ओभरमा ३ मेडन र ४ विकेट लिँदै २० रन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।