काठमाडाैं- पोल्याण्ड युराेकपकाे पहिलाे खेलमै पराजित भएकाे छ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा समूह ‘ई’ अन्तर्गत साेमबार राति भएकाे खेलमा पोल्याण्ड स्लोभाकियासँग १-२ ले पराजित भएकाे हाे। १० खेलाडीमा सिमित पोल्याण्डविरुद्ध १८औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलबाट अग्रता लिएकाे थियाे।
रोबर्ट म्याकले पेनाल्टी क्षेत्र भित्र गरेको प्रहार गोलरक्षक वोजचिएक सेचेज्नीले बल बचाउने प्रयास गर्दा उनलाई लाग्दै गोल भएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा नै पोल्याण्डले बराबरी गोल फर्कायाे।
मासिए रिबसको पासलाई क्यारोल लिनेतिले सहजै गोल गरे। पोल्याण्ड ६२औं मिनेटमा १० खेलाडीमा समेटियो। मिडफिल्डर ग्रेगोर्ज क्रिकोवियकले दोहोरो पहेंलो कार्ड पाएपछि टोली पुन: दबाबमा परेको थियो।
६९औं मिनेटमा स्लोभाकियाले अग्रता लियो। कर्नरमा आएको बललाई डिफेन्डर मिलान स्क्रिनियारले गोलमा परिणत गरे। खेलको अन्तिम समयतिर पोल्याण्डले एकपछि अर्को आक्रमण गरेपनि गोलरक्षक मार्टिन डुब्राभ्काले लगातार बचाउ गर्दै टोलीलाई जित दिलाए।
जितसँगै स्लोभाकियाले ३ महत्त्वपूर्ण अंक जोडेको छ। यसै समूहको अर्को खेलमा केही बेरमा स्विडेन र तीन पटकको च्याम्पियन स्पेन भिड्दैछन्।
स्पेनको घरेलु मैदान स्टेडियो डे ला कार्टुजामा खेल राति १२:४५ बजेबाट शुरु हुनेछ। यसअघि क्वालिफायरमा पनि स्पेन र स्वीडेनबीच खेल भएको थियो। दुई लेगको खेलमा घरेलु मैदानमा स्पेन विजयी भएको थियो। स्वीडेनमा भएको खेल भने स्पेन १–१ को बराबरीमा रोकिएको थियो।
कोरोना संक्रमण भएपछि स्पेनका कप्तान सर्जियो बुस्केट अहिले सेल्फ आइसोलेसनमा छन्। उनले यो खेल गुमाउने छन्।यस्तै,कोरोना संक्रमणबाट मुक्त भएका डिएगो लरेन्टे भने खेल्ने सम्भावना छ। यता, स्वीडेनले डेजान कुलुसेभ्सी र माथियस स्भानवर्ग कोरोनाका कारण गुमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।