काठमाडौं– आर्थिक वर्ष २०७५/७६ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर वृद्धि गरिएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा मंगलबार बजेट प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ छुट्याइएको छ। आर्थिक वर्ष २०७४/७५ मा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा युवा तथा खेलकुद मन्त्रालयको संघ तर्फको बजेट ३ अर्ब ७५ करोड ५४ लाख रुपैयाँ छ। यस्तै प्रदेशमा २८ करोड ४ लाख तथा स्थानीय तहमा १५ करोड ३७ ला रुपैयाँ बजेट विनियोजन गरिएको छ। खेलकुदको बजेटले कूल बजेटको ०.३१९ प्रतिशत हिस्सा ओगेटेको छ।
आर्थिक वर्ष २०७५/७६ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेटमध्ये एसियाली खेलकुद दक्षिण एसियाली खेलकुद र आठौं खेलकुद प्रतियोगिताका लागि २ अर्ब ४ करोड बजेट छुट्याइएको छ। तीन वटै प्रतियोगिता २०७५ मा हुँदैछन्। आगामी साउनमा इन्डोनेसियामा हुने एसियन खेलकुदका तयारीका लागि बजेट छुट्याएको छ। यस्तै नेपालमा हुने आठौं राष्ट्रिय खेलकुद र दक्षिण एसियाली खेलकुदको पूर्वाधार निर्माण र तयारीका लागि बजेट विनियोजन गरिएको छ।
यस्तै सवै प्रदेशमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निमार्णका लागि बजेट छुट्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।