काठमाडाैं- युरोकपमा फुटबलमा चेक रिपब्लिकले विजयी सुरुवात गरेकाे छ।
स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा साेमबार भएकाे समूह ‘डी’ काे खेलमा चेक रिपब्लिकले घरेलु टाेलीलाई ०-२ गाेलले पराजित गरेकाे हाे। चेक रिपब्लिकलाई जित दिलाउन दुवै गाेल प्याट्रिक शिकले गरेका थिए।
खेलमा जायन्ट किलरको छवि बनाएको घरेलु टाेली स्कटल्याण्डले गोलको केही अवसर बनाएको थियो। तर, स्कटल्याण्डले पाएको मौकालाई सदुपयोग गर्न सकेन।
४२औं मिनेटमा प्याट्रिकले हेडरमार्फत् गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए। कर्नरबाट आएको बललाई स्कट म्याकटोमिनेले ब्लक गरेपनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत् गोल गरेका थिए।
यस्तै, ५२औं प्याट्रिकले अग्रता दाेब्बर बनाए। थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको स्थितिमा प्याट्रिकले करिब ५० यार्डबाट गरेकाे प्रहार सिधैं गाेल भएकाे थियाे।
चेकले पछिल्लोपटक २०१० मा स्कटल्याण्डलाई १–० ले पराजित गरेको थियो।
जितसँगै समूह 'डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ। चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ।
यस समूहमा इंग्ल्याण्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेकाे छ। क्रोएसिया अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ। घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १-० ले पराजित गरेकाे थियाे।
स्कटल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। स्कटल्याण्ड समूहको पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।