काठमाडाैं- लगातार बढिरहेको सेयर बजारमा नयाँ रेकर्ड बनेको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.७२ प्रतिशतले बढ्दै ऐतिहासिक ३०२५.८३ विन्दुमा पुगेको हो।
नेप्से परिसूचक तीन हजारभन्दा माथि पुगेको यो नै पहिलोपटक हो। आइतबार २९८३.११ विन्दुमा पुगेर बनाएको रेकर्ड एक दिनपछि नै तोडिएको छ।
नेप्सेमा आज १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्सेको इतिहासमै सबैभन्दा बढी १९ अर्ब ५५ करोडको कारोबार भएको थियो।
नेप्से परिसूचक ऐतिहासिक विन्दुमा पुगेको दिन चारवटा कम्पनीको कारोबारमा सर्किट लाग्यो। नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोसी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र घलेम्दी हाइड्रोको कारोबारमा सकारात्मक सर्किट लागेको हो। कुनै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतसम्म बढे वा घटेमा सर्किट लगाउने गरिन्छ।
नेप्सेमा आज कूल २२१ वटा कम्पनीका तीन करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर एक लाख ७५ हजार ४११ पटक खरिद-बिक्री भएका थिए।
आज माउण्टेन हाइड्रो लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ५.०१ प्रतिशतका दरले गुमाएका छन्।
आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयर सबैभन्दा धेरै ६२ करोड ५९ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। सङ्ख्यात्मक नेसनल हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका १२ लाख १८ हजार १०० कित्ता सेयर किनबेच भएका थिए। नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकका सेयर सबैभन्दा बढी पाँच हजार २६ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १०.६० अंकले बढेर ५५०.०२ विन्दुमा कायम भएको छ। आज विकास बैंक, माइक्रोफाइनान्स, जलविद्युत्, म्युचुअल फण्ड, अन्य र व्यापार समूहको परिसूचक घटेका छन् भने बाँकी सबै समूहका परिसूचक बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।