तस्बिर सौजन्य : रुपेश अधिकारी
काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश आइपुगेको छन्। फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को समूह चरणको बाँकी तीन खेल र इराकसँगको मैत्रीपुर्ण खेलपछि नेपाली टाेली आइतबार स्वदेश आइपुगेकाे हाे।
टोली आइतबार बिहान ५ बजे कुवेतबाट कतारको दोहा हुँदै नेपाल आइपुगेको हो। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कतार फर्किएका छन्। उनी एक साताको बसाईपछि मात्रै नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ।
यस्तै, डिफेन्डर रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन्। उनी शीर्ष डिभिजन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्।
२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली ११ जेठमा चाटर्ड उडानमार्फत कतारको दोहा हुँदै इराकको बसरा प्रस्थान गरेको थियो। टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने छ।
नेपालले चार खेल खेल्दा १ जित र ३ हारको नतिजा निकाल्यो। मैत्रीपुर्ण खेलमा इराकसँग ६–२ ले पराजित भएको नेपालले छनोटमा चाइनिज ताइपेइलाई २–० ले हरायाे। बाँकी दुई खेलमा भने पराजित भएकाे थियाे।
नेपाल जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो। ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेकाे नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ।
अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ। सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।