काठमाडाैं- इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिंग्हम युराेकप खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
बेलिंग्हमले १७ वर्ष ३ सय ४९ दिनको उमेरमा खेल्दै कीर्तिमान कायम गरेका हुन्। उनी जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्।
घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति क्रोएसियाविरुद्ध भएको खेलमा उनी वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए। जुन खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गरेकाे थियाे।
यसअघि सन् २०१२ मा नेदरल्यान्ड्सका जेट्रो विलेम्सले १८ वर्ष ७१ दिनको उमेरमा खेल्दै कीर्तिमान बनाएका थिए।
यस्तै, युरोको फाइनलमा खेल्ने कान्छा खेलाडी साविक विजेता पोर्चुगलका रेनाटो सान्चेस हुन्। गत संस्करणको उपाधि पोर्चुगलले जित्दा सान्चेसको उमेर १८ वर्ष ३ सय २८ दिन रहेको थियो।
इंग्ल्यान्ड फाइनल पुगेको खण्डमा बेलिंग्हमसँग उक्त कीर्तिमान आफ्नो नाम गर्ने अवसर समेत हुनेछ। यस्तै, उनीसँग युरोमा सर्वाधिक कान्छा गोलकर्ता बन्ने अवसर पनि छ।
उक्त कीर्तिमान स्विट्जरल्यान्डका योहान भन्लान्थेनको नाममा छ। उनले युरो २००४ मा फ्रान्सविरुद्ध १८ वर्ष १ सय ४१ दिनको उमेरमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।