काठमाडाैं- उपाधिको दाबेदार इंग्ल्यान्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ।
घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा जितसहित सुरुवात गरेको हो।
घरेलु टोलीले क्रोएसियालाई दवावमा राख्दा ५७औं मिनेटमा अग्रता लिन सफल भएकाे थियाे।
मिडफिल्डर काल्भिन फिलिप्सले दिएको पासमा रहिम स्टर्लिङले गोल गरेका थिए। क्रोएसियन डिफेन्डरले उक्त प्रहार ब्लक गर्ने प्रयास गरेपनि वान टचमै गरेको प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिकको हातमा लाग्दै गोल हुन पुगेको थियो।
स्टर्लिङको पछिल्लो १७ खेलमा यो १३औं गोल हो। उनले ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
त्यस अगाडि खेलको सुरुवातदेखि नै क्रोएसियालाई दवावमा राखेको इंग्ल्यान्ड छैटौ मिनेटमा अग्रता लिनबाट चुकेको थियो। फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
नवौं मिनेटमा काल्भिन फिलिप्सको भली प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले मुस्किलले नियन्त्रणमा लिए।
६५औं मिनेटमा क्रोएसियाका माटियो कोभासिसको पेनाल्टी बक्स बाहिरको प्रहार रिवाउन्ड भएकाे थियाे। उक्त रिवाउन्डलाई एन्टी रेविचले कनेक्ट गरेर प्रहार गरेपनि सहि दिशा लिन भने सकेन।
६७औं मिनेटमा मासन माउन्टको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा इंग्ल्यान्डले अग्रता दोब्बर पार्न सकेन।
यो जितपछि समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ। पराजित क्रोएसिया पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।