काठमाडाैं– खेलकै क्रममा अचेत भएर मैदानमा ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन खतरामुक्त भएका छन्। अहिले उनको अवस्था स्थिर रहेको डेनिस फुटबल फेडेरेसनले जानकारी दिएकाे हाे।
युरोकप २०२० अन्तर्गत शनिबार राति डेनमार्कको कोपनहेगनमा फिनल्यान्डविरुद्धको खेलको ४३औं मिनेटमा बल उनको स्थानसम्म नआउँदै एरिक्सन अचेत भएर मैदानमा ढलेका थिए। एरिक्सन ढलेपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए।
एरिक्सनलाई झन्डै १५ मिनेट मैदानमै उपचार गरेकाे थियाे। स्वास्थ्य टोलीले सीपीआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए। तर, उनी नउठेपछि स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो।
घटनापछि आयोजक यूईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल झन्डै डेढ घण्टा स्थगित गरेको थियो। तर, दुवै टिमको छलफलपछि खेल शुरु भएको थियो।
खेल शुरु हुँदा दुवै टाेली गाेलरहित बराबरीकाे अवस्थामा थिए। यद्यपि, युरोकपमा डेब्यु खेल खेलिरहेकाे फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको छ।
फिनल्याण्डको जितमा पोहनजनपालेले गोल गरेका थिए। अब डेनमार्कले अब १७ जुनमा बेल्जियम र २२ जुनमा रसियासँग खेल्नेछ।
यता, बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गरेकाे गोल आफ्नो सहयात्री डेनिस खेलाडी एरिक्सनलाई समर्पित गरेका छन्।

लुकाकुकै दुई गोल मद्दतमा बेल्जियमले रसियालाई ३–० ले पराजित गरेको थियाे। रसियाविरुद्ध खेलको १०औं मिनेटमा पहिलो गोल गरेपछि खुशियाली मनाउन लागेका सहयात्राीलाई रोकेर लुकाकुले क्यामेरामा हेर्दै भने, 'क्रिस, क्रिस आइ लभ यु'।
यो भिडिओ र तस्वीर अहिले सामाजिक सञ्जमलमा भाइरल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।