काठमाडाैं- युरोकप-२०२० अन्तर्गतको दोस्रो खेलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाँडेका छन्। अजरबैजानको बकु ओलम्पिक स्टेडियमममा शनिबार साँझ भएको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्वीट्जरल्याण्डले सुरुआती अग्रता बनाएको थियो। स्वीट्जरल्याण्डका लागि ब्रेल इम्बोलोले ४९औं मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए।
तर, खेलको ७४औं मिनेटमा वेल्सका किफेर मोरेले हेडमार्फत गोल गर्दै वेल्सलाई हारबाट जोगाए। उनले कर्नरबाट आएको बललाई हेड गर्दै गोल गरेका थिए।
८५औं मिनेटमा स्वीट्जरल्याण्डका मारियोले गोल गरे पनि भीएआर (भिडियो असिस्टेन्ट रेफ्री)बाट त्यसको मान्यता पाएन। मारियो अफसाइट रहँदा उनको गोलले मान्यता नपाएको हो।
बराबरीसँगै समूह ‘ए’ को दुवै टोलीले समान एक/एक अंक जोडेका छन्। यही समूहमा रहेको इटालीले शुक्रबार राति उद्घाटन खेलमा टर्कीलाई ३-० ले पराजित गरेको थियो। समूहमा इटालीको ती अंक छ भने टर्की अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।