काठमाडौं- प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ। देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिए। पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ।
मौसमविद्हरूले आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको प्रक्षेपण गरेका छन्। केही स्थानमा भने भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए। अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्। साधारणतया अङ्ग्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एसियाली क्षेत्रको मनसुन अवधि मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।