काठमाडौं– शुक्रबार राति काठमाडौंको बसुन्धारामा भएको स्कुटर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा ३४ प १७५२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–२२ घर भइ काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय रोहन त्रिपाठी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै, कपिलवस्तुमा पिकअप भ्यानले एउटा मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलस्थित सडकमा लु १ च ५७२८ नम्बरको पिकअप भ्यानले लु ५९ प ३०४६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभूमि नगरपालिका-५ कटिहवा बस्ने २६ वर्षीय विजय कुमार यादव समेत २ जनाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने पिकअप भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।