काठमाडाैं- उपाधि दाबेदार इटालीले १६औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।
रोमस्थित ओलम्पिक स्टेडियममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद् सुरुवात गरेको हो।
इटालीको लागि सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एकरएक गोल गरे। एक गोल भने उपहार पाएको थियो।
निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। घरेलु मैदानमा बलमा पकड जमाएपनि इटालीले पहिलो हाफमा गोल गर्न सकेन। टर्कीले पनि केहि अवसरलाई गुमाएको थियो।
तर, रोबर्टो मान्सिनीको नेतृत्वमा रहेको इटालीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो। ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोल गरे।
डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलको ढाडमा लागेर बल आफ्नै पोष्ट छिरेको थियो।
६६औं मिनेटमा इटालीले अग्रता दोब्बर बनायो। लिओनार्डो स्पिनाज्जोलाको प्रहार टर्कीका गोलरक्षक उगुर्चान चुकारले बचाएपनि रिबाउन्डलाई इम्मोबिलेले गोल गरे।
७९औं मिनेटमा बरेल्लाले दिएको पासमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३-० गोलको जित दिलाए। इम्मोबिलेले पेनाल्टी क्षेत्र भित्रबाट दिएकाे पासलाई वान टचमा गाेल गरेका थिए।
यस जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा ३ अंक जोडेको छ। युरोकप अघिको दुई अभ्यास खेलमा जित निकालेको इटाली ११ सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग १–० ले पराजित भएयता पछिल्लो २८ खेलमा अपराजित छ।
टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। यसै समूह अन्तर्गत शनिबार वेल्स र स्विटजरल्याण्डले खेल्नेछन्। उक्त खेल नेपाली समया अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।