काठमाडाैं- अमेरिकी मेजर सकर लिग क्लब इन्टर मियामीका मालिक जर्ज मासले क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई भविष्यमा क्लबमा भित्र्याउने विश्वास व्यक्त गरेका छन्।
यसअघि गत वर्ष अन्तर्वार्ताका दौरान मेस्सीले करियरको कुनै बिन्दुमा पुगेपछि अमेरिकामा खेल्ने इच्छा रहेको बताएका थिए। यसै महिनाको अन्त्यमा बार्सिलोनासँग ३३ वर्षीय मेस्सीको सम्झौता सकिँदैछ र क्लबले उनीसँँग नयाँ सम्झौता गर्न खोजिरहेको छ।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाका अनुसार मेस्सीसँग सम्झौता थप्ने विषयमा कुराकानी चलिरहेको छ। यो संवाद राम्रोसँग अघि बढिरहेको छ, तर अहिलेसम्म कुनै सहमतिमा नजिक पुगिसकिएकाे छैन्।
बार्सिलोना मेस्सीलाई कति तलब दिन सकिन्छ भनेर निर्धारण गर्नका लागि अहिले बिस्तारित रुपमा आफ्नो आर्थिक प्रतिवेदन अडिट गर्दैछ।
केही रिपोर्टमा उल्लेख भएअनुसार मेस्सीको थप दुई सिजन स्पेन र त्यसपछि मियामीबाट खेल्ने गरी बार्सिलोनासँग मेस्सीको सम्झौता लम्बिन सक्छ।
मेस्सीलाई फ्लोरिडा ल्याउने विषयमा आफू र क्लबका सह-मालिक डेभिड बेकह्यामले कुराकानी अघि बढाइरहेको मासले बताएका छन्।
‘मेस्सीले इन्टर मियामीको सर्टमा खेल्छन् भन्नेमा म आशावादी छु। यसले हाम्रो पुस्ताका महान् खेलाडीको महानतालाई पूर्ण बनाउँछ भन्ने मलाई आशा छ। विश्वस्तरीय टिम बनाउने हाम्रो महत्वाकांक्षासँग पनि यो मिल्छ,’ मासले भनेका छन्।
मेस्सीले २०२१/२२ को सिजनमा प्रतिस्पर्धा गर्नसक्ने उत्कृष्ट टोली बार्सिलोना निर्माण गर्ने सुनिश्चितता खोजिरहेका छन्। गत सिजन ला लिगा र च्याम्पियन्स लिगमा बार्सिलोनाको यात्रा राम्रो रहन सकेन।
मेस्सीले बार्सिलोना छाडेमा इन्टर मिलान, पेरिस सेन्ट जर्माइन र म्यानचेस्टर सिटी उनलाई भित्र्याउने दौडमा हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।