काठमाडाैं- युरोपेली फुटबलको सर्वाेच्च निकाय (युईएफए) को १६औं संस्करण युरो २०२० फुटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।
युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ। युरोकपको उद्घाटन खेलमा समूह 'ए' मा रहेको इटालीले घरेलु मैदानमा टर्कीको आतिथ्यता गरेपछि युरोकप औपचारिक रुपमा शुरु हुनेछ।
रोमस्थित ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ।
उद्घाटन खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन्। युरोकप अघिको दुई अभ्यास खेलमा जित निकालेको इटाली ११ सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग १–० ले पराजित भएयता पछिल्लो २७ खेलमा अपराजित छ।
सन् २०१८ को युरो कपमा जर्मनीसँग क्वाटरफाइनलमा इटली पराजित भएको थियो। त्यसको दुई वर्षपछि भएको विश्वकपमा इटली छनोट हुन सकेन। त्यसपछि टिममा अहिले धेरै परिवर्तन आइसकेको छ।
फिफा वरीयतामा सातौं स्थानमा रहेको इटलीले एक पटक युरोकप जितेको छ।
रोबर्टो मान्सिनीले टिम सम्हालेपछि पोल्याण्डसँग 'ड्र' खेलेको इटली त्यसपछि पोर्चुगलसँग नेसन्स लिगमा पराजित भएको थियो। इटाली सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछ।
यता, टर्की पनि इटालीलाई स्तब्ध पार्दै युरोकपमा सुखद् सुरुवात गर्न चहान्छ। गत नोभेम्बरमा नेसन्स लिगमा हंगेरीसँग २–० ले पराजित भएयता अपराजित टर्कीले त्यसपछि चार जित र दुई बराबरीको नतिजा निकालेको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।