काठमाडौं- बिहीबार सामान्य प्रशासनमन्त्री बनेका नेकपा एमालेका (निवर्तमान) सांसद गणेश पहाडी वैशाख २७ गतेसम्म एमालेको माधवकुमार नेपाल पक्षमा थिए। नेपालपक्षकै निर्देशन शिरोपर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन संसदमा नजानेमा उनी पनि थिए।
सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि नै मन चञ्चल बनाइरहेका उनलाई ओलीले मन्त्री दिएर आफ्नो पक्षमा पारेका छन्। आफू बालुवाटारतर्फ ढल्किने संकेत भने पहाडीले पहिले पनि गरेका थिए। त्यहीकारण हुनसक्छ, वैशाख १० गते बसेको आफूपक्षीय बैठकमा ओलीले नै ‘पहाडीले मुलधारमा लाग्ने प्रतिबद्धता जनाएको’ ब्रिफिङ गरेका थिए। लामो समयदेखि नेपाल पक्षीय भनेर चिनिएका पहाडी ओली पक्षतिर लाग्नुको ‘अर्काे अर्थ’ समेत रहेको बताउन थालिएको छ।
नेकपा एमालेलाई २०७५ साल जेठ २ मा फर्काउने लक्ष्यसहित संघर्ष गरिरहेको नेपाल पक्षलाई छाडेर बालुवाटार प्रवेश गर्ने शृंखला पछिल्ला दिनमा तीव्र देखिन्छ।
नेपाल निकटस्थ मानिने लालबाबु पण्डित र शेरबहादुर तामाङ नेकपाकालमै ओली पक्षमा पुगिसकेका थिए। पुस ५ पछिको राजनीतिक र कानुनी लडाइँमा सक्रिय रुपमा साथ दिएका कृष्णभक्त पोखरेल र विष्णु रिजाललगायत नेताहरु प्नि ओली पक्षमा पुगिसकेका छन्।
निवर्तमान सांसदकै गणना गर्ने हो भने नेकपाकालमा नेपाल पक्षमा रहेका भनिएका ४३ जनाबाट वैशाख २७ सम्म घट्दै २८ पुगे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बालुवाटार हस्ताक्षर बुझाउनेमा २६ जना थिए। सर्वोच्च अदालतमा रिट दायर गर्ने दिनसम्म आइपुग्दा २३ जना मात्रै सांसद नेपालको साथमा छन्।
एमाले पुनःस्थापनापछि नेपाल छाड्ने सांसद
नेपाल पक्षमा रहेका गोकर्ण विष्ट र योगेश भट्टराईले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर गरेको रिटमा हस्ताक्षर गरेका छैनन्। अहिले पनि एकताका लागि भन्दै बीचमा बसिरहेका उनीहरुमाथि नेपाल पक्षले खुलेर ‘भरोसा’ गर्न पनि सकेको छैन। नयाँ पार्टी निर्माणकै तहमा पुग्ने दिनसम्म नेताद्वय घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको पनि ‘भर’ छैन। उनीहरुले गर्ने निर्णयले अन्य नेता र कार्यकर्तामा समेत प्रभाव पार्नेछ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दाताका नेपाल पक्षमा ४३ जना सांसद थिए। त्यहीबेला दुई पक्षीय ध्रुवीकरणमा शेरबहादुर तामाङ, गणेश ठगुन्नालगायतका सांसद थिए।
त्यसपछि उनीहरुमध्ये कृष्णभक्त पोखरेल, गोपाल बम, मायादेवी न्यौपाने, राजबहादुर बुढा क्षेत्री, पार्वतीकुमारी विसुन्खे, ध्रुवकुमार शाही, समिना हुसेन, जयकुमार राई, हिराचन्द्र केसी, भवानीप्रसाद खापुङ, बिनादेवी बुढाथोकी, गंगा चौधरी सतगौवा र विष्णु शर्मा विस्तारै ओली पक्षमा पुगे। पहिले नेपाल समूहमा रहेका लालबाबु पण्डित नेकपाकालको संघर्षमा तटस्थ बसे र एमाले पुनःस्थापनापछि ओलीतर्फ खुलेका छन्।
ओलीको आकलन र रणनीति
गत आइतबार एमाले अध्यक्ष ओलीले एकताका लागि आव्हान गरे। त्यसलाई केहीले ओलीको ‘रियलाइजेसन’का रुपमा पनि लिए। ओलीको त्यस्तो आह्वानपछि एमाले एकता प्रक्रिया अघि बढ्ने अपेक्षा धेरैले गरेका थिए। तर, हप्ताको अन्त्यतिर आइपुग्दा त्यो ‘फन्डा’मा सिमित भएको छ। किनभने त्यसपछि नेपाल पक्षले दिएको ‘प्रतिक्रिया’लाई बालुवाटारले नजरअन्दाज गरेर बसेको छ।
प्रधानमन्त्री ओली नेता नेपालसँग ‘एकता’ गर्न चाहिरहेका छैनन् भन्ने स्पष्ट नै छ। नेपाल पक्षबाट ओलीतर्फ लागेका एक नेता भन्छन् ‘नेपालरहित एमाले बनाउँदा जति हानि बेहोर्नु परे पनि सहन्छु भन्ने उहाँको मनमा छ। त्यही बुझेर म एमालेमा फर्किएको हुँ।’
‘एकला चलो रे’ मुडमा पहिल्यै पुगिसकेका ओली ‘अप्ठ्यारो’मा नेपाल पक्षलाई सम्झन्छन्। वार्ताको पहल गरेजस्तो गरिरहन्छन्। तर, त्यो अप्ठ्यारो टार्ने क्रममा नेपाल पक्षको पूर्व अडान कायम देखेपछि त्यसअघि बढ्दैनन्। फागुन २३ यता अनेकौंपटक यस्तो भइसकेको छ। केही दिनअघिको एकताको आह्वान नेपाल पक्षलाई समेट्ने चाहना कम, रणनीतिक कदम बढी रहेको समयक्रमले पुष्टि गर्दै गएका छन्। उक्त एकता आह्वानमा उनका दुई रणनीति थिए।
पहिलो, नेपाल पक्ष उक्त प्रस्तावमा राजी भयो भने अदालतबाट हस्ताक्षर फिर्ता लिन्छ र प्रतिनिधि सभा विघटनले वैधानिकता पाउँछ। त्यसो हुन सकेन भने कार्यकर्तामाझ आफूले मौका दिँदा पनि नेपाल पक्ष मिल्न नचाहेको सन्देश प्रवाह गर्न सकिन्छ। जसले एमालेमै रहन चाहने नेता र कार्यकर्ताका लागि सहज हुनेछ। यस्तो सन्देश प्रवाह गर्न ओली पक्ष अहिले सक्रिय रुपमा लागिपरिसकेको छ। सम्भवतः त्यहीकारण नेपाल पक्षको जवाफलाई मिल्न नचाहेको रुपमा व्याख्या गरेर संवादहीनतालाई निरन्तरता दिइएको छ।
‘तीन उपगुट’मा गराइँदै फुट
बालुवाटारले नेपाल पक्षमा तीन गुट रहेको विश्लेषण गरेको छ। त्यसमध्ये एउटा गुट जस्तोसुकै अवस्थामा नेपाल पक्षमै रहने तर अन्य दुई गुटमा खेल्न सकिने बालुवाटारको आन्तरिक आकलन छ।
ओलीनिकट एक नेताका अनुसार नेपाल पक्षका ती तीन गुट यस्ता छन्ः पहिलो नेपाल, झलनाथ खनालसँगै नेता भीम रावलको समूह। उक्त समूहमा अष्टलक्ष्मी शाक्य, बेदुराम भूसाल, रघुजी पन्त, युवराज ज्ञवाली र मुकुन्द न्यौपानेलगायतका स्थायी कमिटी सदस्य छन्। रावलबाहेक अन्यसँग तल्ला कमिटीहरुमा ठूलो प्रभाव नरहेको विश्लेषण बालुवाटारको छ। उक्त विश्लेषण सुनाउँदै ओलीनिकट एक नेता भन्छन्, ‘रावलबाहेक अरु भोकल्ड पनि हैनन् र ‘पब्लिक फेस’ पनि छैनन्। त्यसैले उक्त समूहका नेताहरुसँग कुरा गर्न जरुरी ठान्नुभएको छैन।’
नेपाल समूहमा अर्काे उपसमूह छ, जुन पहिले नेता झलनाथ खनाल अन्तर्गत चल्थ्यो। तर, अहिले त्यसलाई स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले चलाउँछन्। त्यो समूहमा दिपकप्रकाश भट्ट, यज्ञराज सुनुवारलगायत छन्। नेपाल पक्षको केन्द्रीय कमिटीमा त्यो समूहको राम्रो प्रभाव छ। पार्टी फुट्ने अवस्थामा सकेसम्म पूरै समूह नभए ठूलो हिस्सा एमालेमा फर्काउन सकिने विश्लेषण ओली पक्षको छ। पछिल्लो समय अध्यक्ष ओली नेता पाण्डेसँग सम्पर्कमा छन्। ओली पक्षका अनुसार संवाद ‘सकारात्मक’ छ।
नेपाल पक्षमै रहेको अर्को उपगुट हो, पूर्व मालेहरुको। जसको नेतृत्व घनश्याम भूसाल र योगेश भट्टराईले गर्छन्। उक्त समूहले यसअघि पार्टी विभाजनको पीडा भोगेको छ। त्यसैले सकेसम्म पार्टी एकता जोगाउन उनीहरु सक्रिय छन्। एमालेको नेपाल पक्ष फुटेर अर्कै पार्टी निर्माण गर्न अग्रसर भयो भने यो समूह ‘पछि हट्ने’ संकेत बालुवाटारले प्राप्त गरेको छ। ‘सम्मानजनक’ भूमिकासहित पार्टीमा यो समूहलाई फर्काउन बालुवाटार सक्रिय छ। त्यसका केही असर देखिन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।