फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले शुक्रबार राति अस्ट्रेलियासँग खेल्दैछ। खेल कुवेत सिटीमा राति ९:४५ बजे सुरू हुनेछ।
कुवेतमा यसअघि नेपालले पहिलो खेलमा ताइपेईलाई २-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालमाथि जोर्डनले ३-० को जित निकालेको थियो।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको छ। समूह ‘बी’ मा खेलेका सबै ६ खेल जितेर १८ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ। दोस्रो स्थानको जोर्डनको १३ अंक छ।
यता, कुवेत १० अंकसहित तेस्रो स्थानमा छ। नेपाल ६ अंक जोडेर चौथो स्थानमा रहेको छ। पाँचौ स्थानको चाइनिज ताइपेईले सबै खेल हारेकाले अंक जोड्न सकेको छैन।
प्लेअफबाट एसियन कपको तेस्रो चरण पुग्न पर्ने अवस्थामा पुगेपछि नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गर्दा चौथो स्थानमा रहने वाचा अनुसार आफू सफल रहेको जिकिर गरेका छन्।
‘मलाई चौथो स्थानमा रहने लक्ष्य दिइएको थियो, त्यसमा हामी सफल भएको छौं। तर, शीर्ष ४ मा पर्न भने हाम्रो प्रयास जारी छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं,’ बिहीबार प्रिम्याच कन्फ्रेन्समा उनले भने।
यस्तै भाेलिकाे खेलबारे बाेल्दै उनले अस्ट्रेलियाविरुद्धको खेल युवा खेलाडीलाई माैका दिने पनि बताए।
‘अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने मलाई थाहा छ। तर युवा खेलाडीलाई खेल्न मौका दिनु पर्ने कुरा पनि महत्वपूर्ण हो। नतिजाभन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ। अस्ट्रेलियाविरुद्ध राम्रो खेल खेल्नेमा आशावादी छु,’ उनले भने।
कुवेत पुगेका सुरज जिउ ठकुरी र आयुष घलान र कमल थापाले स्थातन बनाउन सकेका छैनन्। ‘कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन्। उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नुपर्छ। अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरी छ। युवा खेलाडीलाई डेब्युको अवसर हुन सक्छ,’ उनले भने।
उनले खेल्ने शैलीमा परिवर्तन गरेर समर्थकहरुलाई खुशी बनाउन सकेको पनि दाबी गरेका छन्। ‘हाम्रो खेल्ने शैलीमा सुधार आएको छ। नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, त्यसमा केहि परिवर्तन भएको छ। त्यसको नतिजा देखिएको छ हामीले समर्थकलाई खुसी बनाउन सकेका छौं,’ उनले भने।
उनले छोटो समयमा नै नतिजाबारे सोच्न सहज नहुने पनि बताए। ‘नतिजा पनि महत्त्वपूर्ण हुन्छ, तर छोटो समयमा हामीले समर्थकहरुलाई खुसी दिन सकेका छौं। हामीले भविष्यमा थप सकारात्मक नतिजा दिने संकेत दिएका छौं,’ उनले भने।
जुलाईमा युरोपेली र अफ्रिकी राष्टसँग मैत्रीपूर्ण खेल खेल्न तय भएको पनि उनले जानकारी दिए। ‘सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो। त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं,’ उनले भने।
प्रशिक्षक अलमुताइरीले पछिल्लो खेलमा जोर्डनविरुद्ध रेफ्रीको निर्णयलाई लिएर पनि प्रश्न गरे। इन्ज्युरी समयमा जोर्डनका गोलकिपरलाई बिट गरिसकेका नवयुग श्रेष्ठ बक्समा लडेका थिए।
‘जोर्डनविरुद्ध रेफ्रीको प्रदर्शन चित्तबुझ्दो थिएन। गोलरक्षकले रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो,’ उनले भने।
नेपालको सामना गर्न तयार छौं : अस्ट्रेलियाका प्रशिक्षक
अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले आफ्नाे टाेली नेपालको सामना गर्न तयार रहेकाे बताएका छन्।
‘हामीसँग टोलीमा एकदम राम्रो वातावरण सिर्जना भएको छ। सबैजना उत्साहित छन्। अब नेपालको सामना गर्न तयार छौं। हामीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्छ। म आफ्नो टोलीका खेलाडीहरुबाट मिहिनेत गर्ने अपेक्षा राख्दछु,’ उनले भने।
नेपालले कडा मिहिनेत गरिरहेको र खेल्न उत्साहित भएको उनले बताए। ‘पछिल्लो पटक सन् २०१९ अक्टोबरमा सामना गरेयता नेपालको टोलीमा परिवर्तन भएको छ। नेपाल परिश्रमी टिम हो। नेपाली टिमलाई सम्मान गर्छौं। उनीहरुले फरक शैलीले खेलिरहेका छन्। प्रशिक्षकले राम्रो गरिरेहका छन्। म राम्रो खेलको अपेक्षा गरिरहेको छु,’ उनले भने।
ताइपेइविरुद्ध खेलेको टोलीबाट केही परिवर्तन हुने उनले जानकारी दिए। अस्ट्रेलियाकाे टाेलीमा २९ खेलाडी छन्। त्यसमा ४ गोलरक्षक छन्। ‘टोलीमा पछिल्लो खेलबाट पक्कै केही परिवर्तन हुन्छ। कुवेतविरुद्ध खेल्ने टोलीका केहि खेलाडी पनि खेल्नेछन्,’ उनले भने।
आर्नोल्डले आफ्नो प्रदर्शन कसरी राम्रो हुन्छ भन्नेमा बढी ध्यान दिने पनि बताए। नेपाललाई पराजित गरे अष्ट्रेलियाको एसियन कपमा स्थान तथा विश्वकप छनोटको अर्को चरणमा स्थान पक्का हुनेछ।
‘खेलमा ७५ प्रतिशत आफ्नो र २५ प्रतिशत विपक्षीको दबाब हुन्छ। हामी विपक्षीभन्दा पनि आफ्नो खेलमा बढी ध्यान दिन्छौं। त्यसैले हामी आफ्नो प्रदर्शन र स्तरलाई ध्यान दिएर नै अघि बढ्नेछौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।