काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बिहीबार सात मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्।
यससँगै ओलीको मन्त्रिमण्डल २५ सदस्यीय पुगेको छ। संविधान अनुसार संघीय मन्त्रिपरिषद् २५ जना भन्दा बढीको बनाउन पाइँदैन। अब नयाँ मन्त्री नियुक्त गर्नुपरे पूराना मन्त्रीलाई हटाउनुपर्नेछ। प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आफैंसँग राखेका छन्।
बिहीबार थपिएका मन्त्रीमा खगराज अधिकारी, गणेश पहाडी, नारद मुनि राना, राजकिशोर यादव, मोहन बानियाँ, नैनकला थापा र ज्वालाकुमारी साह रहेका छन्।
अधिकारीलाई गृह, पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, रानालाई वन तथा वातावरण, यादवलाई उद्याोग वाणिज्य तथा आपूर्ती, थापालाई सञ्चार तथा सूचना प्रविधि र साहलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। बानियाँलाई भने बिनाविभागीय मन्त्री बनाइएको छ। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको छ।
यस्तै, प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्। थपिएका मन्त्री र राज्यमन्त्रीको आजै ४ बजे हुने बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।