काठमाडौं- गणतन्त्र दिवसको अवसर पारेर सरकारले कैद माफी दिएसँगै कर्तव्य ज्यान मुद्दाका दोषी पूर्व माओवादी नेता बालकृष्ण ढुंगेल आज बिहान ७ बजे डिल्लीबजार जेलबाट छुटेका छन्।
डिल्ली बजार लेजमा उनलाई स्वागत गर्न उनका समर्थक फूलमाला र अवीर लिएर पुगेका थिए। त्यस लगत्तै ढुंगेललाई पूर्व माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले स्वागत गरेका छन्। पेरिसडाँडामा पूर्व माओवादीका नेता तथा कार्यकर्ता भेला भई ढुंगेललाई स्वागत गरेका हुन्।
२०६१ सालमा ओखलढुंगाका उज्ज्नकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर भएका ढुंगेल लामो समय फरार अभियुक्तका रुपमा रहेका थिए। उनलाई गत कात्तिक १४ मा पक्राउ गरी डिल्ली बजार जेलमा राखिएको थियो। सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढुंगेलले अगाडि जेल बसेको सयम कटाएर कात्तिक १४देखि १२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्ने थियो। तर सरकारले अशल चालचलनको आधारमा गणतन्त्र दिवसका दिन कैदमाफी दिएको हो।
जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। जिल्ला अदालतको फैसला हुदाँसम्म उनी थुनामा रहेका थिए। तर पुनरावेदनले उक्त फैसला उल्टाएपछि उनी खुल्ला रुपमा मुद्दा लड्दै आएका थिए।
तर २०६६ मा सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गरेको थियो। पुनरावेदनको मुद्दा उल्टाएर दोषी ठहर गरे पनि आठ वर्षदेखि उनी फरार अभियुक्तको रुपमा रहँदै आएका थिए।
यसअघि विभिन्न समयमा बनेका सरकारले ढुंगेललाई माफी दिने प्रयास गरेका थिए। २०६८ कात्तिकमा बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपतिलाई ढुंगेललाई उन्मुक्ति दिन सिफारिस नै गरेको थियो।
सरकारको उक्त निर्णयविरुद्ध उज्जनकी दिदी सावित्री श्रेष्ठ सर्वोच्च पुगेकी थिइन्। सर्वोच्चले उक्त कार्य तत्काल रोक्न अन्तरिम आदेश गरेको थियो भने फैसलामा पनि जेलबाहिर रहेको व्यक्तिलाई माफी दिन नमिल्ने भनेको थियो। राजनीतिक संरक्षणमा उक्त फैसलालाई चुनौती दिँदै आएका ढुंगेल गत कात्तिक १४ मा पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।