पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी धावकहरु मंगलबार अन्नपूर्ण आधार शिविर प्रस्थान गरेका छन्। म्याराथनका प्राविधिक टोलीसहितका धावकहरुलाई महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले बिदाइ गरे।
खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा मार्गमा हुन लागेका म्याराथनमा ७० धावक सहभागी हुँदैछन्। अन्नपूर्ण म्याराथन जेठ २० गते बिहान साढे ६ बजे अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुँदैछ।
म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वाथ्यकर्मीसहित आवश्यक उपकरण एवं अन्य सामग्रीको व्यवस्थापन पूरा भएको सहायक प्राविधिक निर्देशक कृष्णबहादुर वस्नेतले जनाए।
महोत्सवको तेस्रो चरण अन्तर्गत जेठ १७ देखि २० सम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले बताए।
अन्नपूर्ण पदयात्रा मार्गको प्रचार–प्रसार एवं अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण सेच्नुरी पर्यटन महोत्सव–२०७४ आयोजना गरेको हो।
गत असोज २५ मा अन्नपूर्ण आधारशिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरण गत पुस १० देखि १५ सम्म विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको महोत्सव प्रचारप्रसार संयोजक टंकराज अधिकारीले बताए।
म्याराथनमा प्रथम हुने धावकले १ लाख र दोस्रो हुने धावकले ७० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्। तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कारको व्यवस्था छ भने उत्कृष्ट १० धावकलाई पनि सान्त्वना पुरस्कार दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।