काठमाडौं- इङ्ग्लिस फुटबल संघले विवादित युरोपेली सुपर लिग (ईएसएल)का संस्थापक ६ क्लबलाई कारबाही गरेको छ।
स्काइ न्यूजका अनुसार संस्थापक १२ क्लब मध्येका प्रिमियर लिगका चेल्सी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेनहमलाई बुधबार दिउँसो कारबाही गरेको हो। यी टोलीले यस अगाडि नै आफू युरोपेली सुपर लिगमा सहभागी नहुने भन्दै नाम फिर्ता लिसकेको थियो।
यद्यपि, इङ्ग्लिस फुटबल संघले युरोपियन सुपर लिगमा सहभागी हुन सहमति जनाएबापत् यी क्लबलाई संयुत्तः रुपमा २० मिलियन पाउण्ड जरिवाना तिराएको हो।यो रकम एउटा क्लब ६ भागमा ३.३ मिलियन पाउण्ड (३ अर्ब ३० करोड रुपैयाँ) पर्छ। यी क्लवहरुलाई आगामी दिनमा यस किसिमका समान फुटबल लिगमा सहभागी नहुन चेतावनी पनि दिइएको छ ।
यदि यी ६ वटामध्ये कुनै पनि क्लवले समान किसिमको कुनै अर्को फुटबल लिगमा सहभागी हुन सहमति जनाएमा उक्त क्लबले एक्लै २० मिलियन पाउण्ड जरिवाना तिर्नुपर्नेछ। साथमा उक्त क्लवको प्रिमियर लिग अंक ३० अंकले घटुवा हुनेछ ।
यसरी ठूलो अंक घटुवा हुँदा ती क्लवहरु प्रिमियर रेलिगेसनमा परेर लिग खेल्नै नपाउने हुनसक्छ। यो अंक कटौतीले उनीहरुले जितेका १० खेल हारे बराबर गणना हुनेछ ।
‘जरिवानाको आकार युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले केही हप्ता अगाडि गरेको निर्णय अनुसार निर्धारण गरिएको हो। आगामी दिनमा यस्तो कदम चालिए योभन्दा कडा कारबाही गरिनेछ,’ इङ्ग्लिस फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सुपर लिग अप्रिल १८ मा घोषण गरिएको थियो। तर, सोही दिनदेखि यो विवादमा पर्न थाल्यो। फुटबलको विश्व प्रशासकीय निकाय फिफाले प्रतिस्पर्धालाई मान्यता नदिने र युईएफएले भाग लिने खेलाडी र क्लबमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।
यसका साथै कयौं समर्थकहरुले फुटबलमा एकाधिकार कायम गर्न खोजेको भन्दै विरोध जनाएपछि संस्थापकमध्ये ६ इंग्लिससहित इटालिका २ र स्पेनका एक क्लबले सहभागी नाम फिर्ता लिएका थिए।
संस्थापक १२ क्लबमा प्रिमियर लिगका ६, इटालियन लिगको ३ र स्पेनिस लिगको ३ क्लब रहेका थिए। तर, प्रिमियर लिगबाट चेल्सी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेनहमले नाम फिर्ता लिएका हुन्।
यता, एसी मिलान र इन्टर मिलानले पनि प्रतिनिधित्व नजनाउने भएको छ। स्पेनबाट एटलेटिको मड्रिडले पनि नखेल्ने जनाइएको छ।
यद्यपि, बार्सिलोना, रियल मड्रिड र युभेन्ट्सले भने नाम फिर्ता लिएको छैन। यी तीन क्लबमाथि अनुसन्धान गर्न युईएफएले छानबिन समिति गठन गरेको छ। केही मिडियाका अनुसार यी तीन क्लबलाई युईएफएले यूरोपियन प्रतिस्पर्धाबाट दुई वर्षे प्रतिबन्ध लगाउनेबारे पुनर्विचार गरिरहेको छ। यद्यपि, यो कदम त्यति सहज छैन। युईएफएले सम्बन्धित निकायलाई प्रतिबन्धको लागि आग्रह गर्नुपर्छ।
यता, कर्मसियल कोर्ट अफ मड्रिडले २० अप्रिलमा युईएफए र फिफालाई सुपर लिग रोक्नको लागि कुनै कदम नचाल्न आदेश दिएको छ। यता, युईएफएले टोटेनहम, आर्सनल, सिटी, युनाइटेड, चेल्सी, लिभरपुल, एट्लेटिको मड्रिड, मिलान र एसी मिलानलाई यस अगाडि नै आर्थिक जरिवाना तिराएको थियो।
यी सबै क्लबले १/१ करोड यूरो जरीवाना स्वीकार गरिसकेका छन्। यद्यपि, बाँकी क्लबले युईएफएको यो कदमको विरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।