काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ को स्वागत गरेको छ।
परिसंघले बुधबार विज्ञप्ति जारी गर्दै उक्त विनियमावलीमा विदेशी लगानीसम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको जनाउँदै स्वागत गरेको हो।
‘परिसंघले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने व्यवस्था गर्नुपर्छ भन्ने धारणासहित श्रीमान् गभर्नर महाप्रसाद अधिकारीज्यूसमक्ष मिति २०७७ असार २८ गते र माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलज्यूसमक्ष मिति २०७७ पौष १९ गते पेश गरिएको सुझाव सम्बोधन भई नीतिगतरूपमा व्यवस्था भएकोले नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको निमित्त मार्ग प्रशस्त गर्ने सिविफिनले अपेक्षा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
कोभिड महामारीपछि विश्वका धेरै देशले लगानी आकर्षित गर्न विभिन्न प्रकारका योजना र राहत कार्यक्रमहरू सञ्चालन गरिरहेको सन्दर्भमा नेपाल जस्तो देशले पनि वैदेशिक लगानी आकर्षित गर्न सहज लगानीमैत्री नीतिगत व्यवस्था र वातावरण सिर्जना गर्नु अत्यावश्यक रहेकोमा राष्ट्र बैंकले सम्बोधन गरेको परिसंघले जनाएको छ।
‘नयाँ नीतिगत व्यवस्थाले विदेशी लगानी आकर्षित हुने, विभिन्न पूर्वाधारमा लगानी भई आर्थिक क्रियाकलाप बढ्ने, रोजगारी सिर्जना हुने र समग्रमा दिगो आर्थिक वृद्धि तथा विकासमार्फत् समृद्ध राष्ट्र निर्माण गर्ने आम नेपालीको राष्ट्रिय अभियानमा ठोस योगदान पुग्नेमा सिविफिन आशावादी रहेको छ,’ संस्थाका अध्यक्ष भोजबहादुर शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।