काठमाडाैं- युरोकप २०२० नजिकिँदै गर्दा स्पेनी टोलीका डिफेन्डर डिएगो लोरेन्टेलाई कोरोना संक्रमण भएको छ। उनी कोरोना संक्रमित हुने दोस्रो स्पेनी खेलाडी हुन्।
केही दिनअघि कप्तान सर्जियो बुस्क्वेट्सलाई पनि कोरोना संक्रमण भएको थियो।स्पेनले समूह ‘इ’ को आफ्नो पहिलो खेलमा सोमबार राति स्विडेनको सामना गर्दैछ।
स्पेनी क्याम्पमा संक्रमितहरुको संख्या बढ्ने स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुबिएलसले लोरेन्टेबारेले बताएका छन्।
‘बुस्क्वेट्समा पोजिटिभ देखिएपछि सबै खेलाडीलाई आइसोलेसनमा राखिएको छ। यद्यपि, आगामी दिनमा अन्य खेलाडीमा पनि पोजिटिभ देखिन सक्छ,’ उनले भने।
उनका अनुसार अहिले पाँच-पाँचजनाको समूहमा बनाएर अभ्यास गराइँदै आएको छ। दुई खेलाडी टिमबाट बाहिरिएपछि स्पेनले गोलरक्षक केपा र राउल अल्बियोललाई युरोमा सहभागी गराउने सम्भावना छ।
यता, स्विडेनका विङ्गर डेजान कुलुसेभेस्कीलाई पनि कोरोना संक्रमण भएको छ। उनी पनि संक्रमित हुने दोस्रो स्विडेनी खेलाडी हुन्। यसअघि डिफेन्डर माटिएस स्भानबेर्ग संक्रमण भएको थियो। उनी टिमबाट बाहिरिसकेका छन्।
युराेकप जुन ११ देखि शुरु हुँदै छ। स्पेन र स्विडेन रहेकाे समूहमा पोल्यान्ड र स्लोभाकिया छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।