काठमाडाैं- अर्जेन्टिनाले विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाकाे ४७औं संस्करणमा भाग लिने भएकाे छ। अर्जेन्टिनाको फुटबल संघले आइतबार जुन १३ देखि सञ्चालन हुने भनिएको कोपा अमेरिकामा भाग लिने पुष्टि गरेको हाे।
यद्यपि,अर्जेन्टिना र चिलीका प्रशिक्षकले ब्राजिलमा काेराेना महामारी उच्च बिन्दुमा रहेकाे भन्दै प्रतियाेगितामा सहभागी हुन नहुने बताएका थिए। ‘हामी जानुपर्छ भने जान्छौं,’ अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले भनेका थिए, ‘तर अझै पनि आवासलाई लिएर धेरै अनिश्चितताहरु छन्। इमानदार भएर भन्नुपर्दा हामी चिन्तित छौं, ब्राजिल उपयुक्त ठाउँ होइन।’
उनले ब्राजिलमा काेराेना संक्रमण उच्च भएकाे र प्रतियाेगिताले अझै संक्रमण फैलिने खतरा भएकाे बताउँदै आएका छन्। यसअघि कोपा अर्जेन्टिना र कोलोम्बियाले सयुक्त रुपमा आयाेजना गर्ने जिम्मेवारी पाएकाे थियाे। तर, राजनीतिक अस्थिरताका कारण दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल)ले सहआयोजक कोलोम्बियालाई हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो।
राष्ट्रपति इभान डुकविरूद्ध त्यहाँको नागरिकले बिरोध प्रदर्शन गर्नुका साथै सडकमा हिंसात्मक घटना भएको थियो। अर्जेन्टिनामा पनि कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि कन्मेबलले प्रतियोगितास्थल ब्राजिलमा सारेकाे हाे।
ब्राजिल सरकारले सुरक्षा मापदण्ड बनाएर घरेलु खेलहरू सञ्चालन गर्न अनुमति दिएको छ। तर, अनावश्यक यात्रा र क्रियाकलापहरू रोक लगाएको छ। कोरोना प्रकोपबीच प्रतियाेगिता आयोजना हुने भएपछि याे पछिल्लो समय विवादमा तानिएको छ।
ब्राजिलमा कोरोना भाइरसको प्रभाव समाप्त भइसकेको छैन। यसबीचमा ब्राजिलका कप्तान क्यासेमिरो र स्टार खेलाडी नेमारले यो प्रतियोगिता यसपटक तत्काललाई गर्न नहुने धारणा राखेका छन्। यता, उरुग्वेका लुइस स्वारेजले पनि खेल बहिष्कार गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।