काठमाडौं- इङ्लिस टिमका डिफेण्डर बेन ह्वाइटले युरोकप खेल्ने भएका छन्। डिफेण्डर ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड घाइते भएपछि उनको स्थानमा ह्वाइटलाई बोलाइएको हो।
यसअघि अन्तिम टोलीमा परेका आर्नोल्ड अष्ट्रेलिया विरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए। उनी करिब ६ हप्ता मैदान बाहिर रहने भएका छन्।
प्रिमियर लिग क्लब ब्राइटनका सेन्टर ब्याक ह्वाइट यसअघि ३३ सदस्यीय प्रारम्भिक टोलीमा परे पनि अन्तिम टोलीमा स्थान बनाउन असफल भएका थिए।
इङ्ल्याण्डको पछिल्लो मैत्रीपूर्ण खेलमा रोमानियाविरुद्ध ह्वाइटले राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक गारेथ साउथगेटले टिममा बोलाएका हुन्।
प्रशिक्षक साउथगेटले रोमानियाविरुद्ध ह्वाइटसँगै जेम्स वार्ड प्रोव र बेन गोडफ्रेलाई अवसर दिएका थिए। यस्तै, जेस लिनगार्ड र ओली विट्किन्सले पनि दोस्रो हाफमा मैदान प्रवेश गरेर खेलेका थिए।
साउथगेटले नियमित कप्तान ह्यारी केनसहित चेल्सी र म्यानचेष्टर सिटीका खेलाडीलाई आरम दिँदै दोस्रो रोजाईको टिम मैदान उतारेका थिए।
यही जुन ११ देखि सुरु हुने युरोकपमा इङ्ल्याण्ड समूह ‘डी’ मा रहेको छ। यस समूहमा इङ्ल्याण्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।