काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीकी एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर निकालिएको छ। काठमाडौंकी स्वयम्भू घर भएकी महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको हो।
अस्पतालकी सर्जन डा सृष्टी श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले आइतबार सफल शल्यक्रिया गर्दै महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालेको हो।
ती महिलामा केही समय अगाडिदेखि नै पेट फुल्ने समस्या देखिएको थियो। एक वर्षअघि जाँचको लागि अस्पताल पुग्दा पेटमा 'सिस्ट' रहेको पत्ता लागेको थियो
तर, पेट फुलेर असहज भएपछि मात्रै ती महिला उपचारका लागि अस्पताल पुगेकी थिइन्। अस्पतालमा जाँच गर्दा सिस्ट बढेर ठूलो भएको पाइएपछि शल्यक्रिया गर्ने निर्णय भएको हो।
शल्यक्रिया गर्ने टोलीमा आफूसहित डा उषा बाडे श्रेष्ठ, डा अनिसा श्रेष्ठ, डा रन्जना मण्डल र डा देवकी गुवाजु रहेको डा प्रजापतिले जानकारी दिइन्।
डा प्रजापतिका अनुसार अस्पतालमा यति ठूलो ट्युमरको शल्यक्रिया गरिएको सम्भवत: यो नै पहिलोपटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।