काठमाडाैं- नेपालको पुँजीबजारमा आइतबार एकै दिन दुईवटा रेकर्ड बनेको छ। आज नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड बनाउँदा कारोबार रकममा पनि अर्को रेकर्ड बनेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५०.१४ अंकले बढेर २९०६.९१ विन्दुमा उक्लिँदा यसअघिको रेकर्ड तोडिएको हो। यसअघि जेठ २० गते बिहीबार नेप्से २८७५.९७ विन्दुमा पुगेका थियो।
यस्तै, नेप्सेमा आज कूल १७ अर्ब २७ करोड १७ लाख रुपैयाँ बराबरको कीर्तिमानी कारोबार भएको छ। यसअघि जेठ १६ गते आइतबार १७ अर्ब दुई करोड ८४ लाख रुपैयाँको कारोबार भएको थियो।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ७.८८ अंकले बढेर ५२१ विन्दुमा कायम भएको छ।
आज कूल २१८ वटा कम्पनीका तीन करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर एक लाख ७१ हजार ६० पटक खरिद-बिक्री भएका थिए।
आज महिला लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको छ। राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ८.५६ प्रतिशतका दरले गुमाएका छन्।
आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै एक अर्ब २१ करोड १४ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा नेपाला इन्फ्रास्ट्रक्चर बैंकका १४ लाख ७८ हजार ८८५ कित्ता सेयर किनबेच भएका थिए। सोही कम्पनीका सेयर सबैभन्दा बढी १० हजार ३८१ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बिमा, उत्पादन, निर्जीवन बिमा तथा व्यापार समूहका परिसूचक ओरालो लाग्दा बाँकी समूहका परिसूचक बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।